धरान : उपमहानगरपालिका कार्यपालिका बैठक वडाध्यक्ष, कार्यपालिका सदस्यहरू अनुपस्थित भएकाले हिजो बिहीबार पनि बस्न नसकेपछि मेयर हर्क साम्पाङले चौथो पटक पनि बैठक बस्न नसके सम्पूर्ण कार्यहरू तोक आदेशको निर्णयमा चलाउने बताएका छन् ।
उनले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयारी गर्न कार्यपालिका बैठक र नगरसभा बस्न नसके पब्लिक स्कुलमा आम जनता भेला भएर अनुमोदन गर्ने पनि बताए ।
गएको चैत १ मा बिचैमा स्थगित बैठक तेश्रो पटक बिहीबार बोलाइएको थियो । बैठकमा मेयर साम्पाङ, उपमेयर आईन्द्र विक्रम बेघा र धरान-४ का वडाध्यक्ष धन बहादुर राई मात्र उपस्थित भएकोले गणपूरक सङ्ख्या नपुगेको कारण फेरी पनि स्थगित भएको हो ।
स्थगित भएपछि मेयर साम्पाङले भने ‘तेस्रो पटक पनि बैठक बहिष्कार भयो, अब चौथो पटक पनि  बैठक अवरुद्ध भइरहे उपमहानगरपालिकाको काम नरोकिने सम्पूर्ण कार्यहरू तोक आदेशमा चल्ने छ ।’ कार्यपालिका सदस्यहरू बैठकमा उपस्थित नभए दुई वटा विधि प्रयोग गर्ने उनले बताए ।
उनले भने ‘कि वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरू बैठकमा उपस्थित हुनुपर्‍यो, कि सामूहिक रूपमा राजीनामा दिनुपर्‍यो ।’ राजीनामा पछि धरान उपनिर्वाचनमा जानुपर्छ ।
लोकतन्त्रमा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले जनताको आदेशलाई अपमान गरेर जाने अनुमति नभएको उनको भनाई छ । उनले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयारी गर्न कार्यपालिका बैठक र नगरसभा बस्न नसके पब्लिक स्कुलमा आम जनता भेला भएर अनुमोदन गर्ने बताए ।
उपमेयर आईन्द्र विक्रम बेघाले कार्यपालिका बैठकमा उपस्थित हुन सम्पूर्ण कार्यपालिका सदस्यलाई आग्रह गर्दै आफूले आवश्यक समन्वय मेयर र वडा अध्यक्षहरूलाई गरेको बताए । तर वडा अध्यक्षहरू पटक पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको बताए । 
उनले भने ‘कार्यपालिका बैठक बसेर आवश्यक समन्वयको निष्कर्ष छलफलबाटै निकाल्नु उचित हुन्छ, अन्यथा भागेर समस्याको समाधान हुँदैन ।¨ कार्यपालिका सदस्य दिनेश गजमेरलाई आफूमाथि लगाएको आरोप पुष्टि सहित आउन आग्रह गरेका छन् ।