धरान : आदिवासी जातिको सांस्कृतिक पर्व उभौलीमा नाचिने साकेली सिली धरानमा बालबालिकाहरूलाई पनि अभ्यास गराउन थालिएको छ । किरात राई खेलकुद सङ्घले स्कुलहरूमा यस्तो अभ्यास सुरु गरेको हो ।
सङ्घद्वारा बुधवार धरान-१६ स्थित मण्टेश्वरी किन्डर गार्डेनमा आयोजित अभ्यासमा ससाना बालबालिकाले सकेला सिली नाचेका छन् ।
खेलकुद सङ्घका कलाकारहरूले स्कुलका बालबालिकालाई ढोल झ्याम्टा सहित साकेला सिली सिकाउनुका साथै उनीहरूले साकेला नाच प्रदर्शनी पनि गरे ।
मण्टेश्वरीका अध्यक्ष गौरवमान श्रेष्ठले बालबालिकालाई विभिन्न जातीको भाषा  र संस्कृति जानकारी गराउन, मोह जगाउन सङ्घको सहकार्यमा साकेला अभ्यास कार्यक्रम आयोजना गरेको बताए ।
उनले भने ‘पढाई मात्रै होइन, अतिरिक्त क्रियाकलापमा विभिन्न जातीको कला र संस्कृतिलाई पनि हामीले बालबालिकालाई सिकाउँदै आएका छौ ।’ यस अघि स्कुलले लाखे नाच देखाएको श्रेष्ठले बताए ।
किरात राई खेलकुद सङ्घ, सुनसरीका अध्यक्ष  विकास चाम्लिङ राईले बालबालिकाहरूलाई किरात राईहरूका संस्कृति र पर्वका बारेमा बताएका थिए । उनी किरात राई यायोक्खा, सुनसरी सदस्य पनि हुन् ।
उभौली किरात समुदायको महान् चाड हो । वैशाखे पूर्णिमादेखि विधिवत् ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म आँगनमा स्याउली गाडेर धूमधामसँग साकेला सिली नाचेर मनाउने गरिन्छ ।
अन्नबाली लगाउने बेला समय साल राम्रो होस, अन्नबाली सप्रियोस्, सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरूमा सुख, शान्ति होस भन्ने कामना गर्दै प्रकृतिको पूजा गरी साकेला नाचिन्छ, यसैलाई नै साकेला उभौली भनिन्छ ।
साकेला नाच प्रदर्शनीमा महिला बास्केटबलका राष्ट्रिय खेलाडी डा.आशा राई, प्रदेश १ खेलाडी तनु राई, निरुता राई, दिवस राई लगायत सहभागी थिए ।