इटहरी : रेडिमेड व्यवसायी सङ्घ इटहरीका पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन् । सङ्घका अध्यक्षले संस्थाको हित विपरीत काम गरेको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।

२०७९ माघ २८ गते भएको उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष विनोद श्रेष्ठले संस्थालाई धोखा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । महासचिवलाई सम्बोधन गरिएको राजीनामा पत्रमा सङ्घको तर्फबाट उम्मेदवार रहेका बुद्धिकान्त सुवेदी (बुद्ध) लाई मत नदिएर अध्यक्षले धोखा दिएको उल्लेख गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष सुवेदी सहित उपाध्यक्ष नगेन्द्र बहादुर विष्ट, सचिव दामोदर रिमालले कार्यसमितिबाट राजीनामा दिएका छन् । सदस्यहरूमा महेश गुरागाईँ, सुमन भट्टराई, लिलम खड्का, दीपक खड्का, मदन ढकाल, प्रमीला पराजुली र रुपन खतिवडाले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् ।

विधान सम्मत ढङ्गबाट अध्यक्ष परिचालन नभएको र नैतिकताका आधारमा समेत अध्यक्षको स्पष्टीकरण माग गर्दै पटक पटक कार्यसमितिबाट जानकारी गराउँदा समेत बेवास्ता गर्दै चित्तबुझ्दो जवाफ नआएको जानकारी गराइएको छ ।

‘अध्यक्षबाट पटक पटक गल्ती दोहोर्‍याउने काम भएको तथा विभिन्न चलखेल गरी हाल आएर सङ्घलाई निकम्मा हुने अवस्था सृजना भएका कारण हामी कार्यसमिति पदाधिकारी/सदस्यहरू यस किसिमका अमर्यादित, अव्यवहारिक तथा अनैतिक अध्यक्षको मातहतमा रहेर संस्थागत गतिविधि गर्न असमर्थ छौँ भनि आ-आफ्नो पदबाट यो सामूहिक राजीनामा बुझाउँदछौँ,’ पत्रमा भनिएको छ ।

letter