इटहरी : नेपाल प्रेस युनियन सुनसरीको पदस्थापन कार्यक्रममा व्यवसायीक तथा मर्यादित पत्रकारिताबारे बहस भएको छ। इटहरीको लायन्स क्लबमा बुधवार भएको कार्यक्रममा पत्रकारको क्षमता र दक्षता अभिवृद्धिमा जोड दिइएको छ ।

प्रेस युनियन केन्द्रीय महासचिव दिलीप पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरूले पत्रकारको भविष्यको बारेमा चिन्ता व्यक्त गरे । महासचिव पौडेलले लेख्ने पत्रकार जन्माउन तर्फ प्रेस युनियन लाग्नुपर्ने धारणा राखे । पत्रकारितामा निखारता ल्याउन जरुरी रहेको बताउँदै कपी पेस्ट गर्ने जमानामा खोजपूर्ण सामग्री तयार पार्ने पत्रकारको खाँचो रहेको विचार व्यक्त गरे ।

पत्रकार चुनौतीपूर्ण पेसा रहेको बताउँदै सामाजिक योगदानको लागि डटेर सामना गर्न तयार रहन आग्रह गरे । ‘अबको समयमा दक्ष पत्रकार बनाउन जरुरी छ । प्रविधि सुहाउँदो पत्रकार अहिलेको आवश्यकता हो ।,’ उनले भने, ‘पत्रकारको सामान्य दक्षता भनेको सञ्चार साक्षरता हो । त्यसतर्फ युनियनका साथीहरूले ध्यान दिनुहोला । पत्रकार भएनन् भने सङ्गठन बच्न सक्दैन ।’

नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि दामोदर दवाडीले सुदृढ लोकतन्त्रकालागी पत्रकारको कलम बलियो हुन जरुरी रहेको बताए ।

अग्रज पत्रकार हर्ष सुब्बाले पनि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखे । सञ्चार गृह दक्ष पत्रकारको खोजीमा रहेको र पत्रकार जागिर मात्र खान खोज्ने भएपछि समस्या भएको उनले बताए । दक्ष भएपछि भनेजस्तो सञ्चार गृहमा जागिर पाइन्छ भन्ने सोच बढाउनुपर्ने उनको भनाई छ । प्रेस युनियनले पत्रकारिताको क्षमता अभिवृद्धिमा लाग्नुपर्ने उनको धारणा छ । 

पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले व्यवसायीक पत्रकारिता कमजोर भएको प्रति चिन्ता व्यक्त गरे । पत्रकार अल्छी बन्दै गएको बताउँदै उनले मेहनत र खोजले मात्र पत्रकारिताको गरिमा कायम राख्ने सक्ने धारणा राखे । 

कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष  चेतन धमलाले पत्रकारिताको चुनौतीलाई सामना गर्नेगरि प्रेस युनियनले वातावरण सृजना गर्नुपर्ने बताए । प्रेस युनियनको निवर्तमान अध्यक्ष पवन अधिकारी र धनबहादुर पुरीको कार्यकालमा धेरै काम भएको प्रशंसा गर्दै उनले थप कामको लागि नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिए । 

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष अधिकारीले आफ्नो कार्यसमितिका सदस्य तथा पूर्व अध्यक्ष पुरीलाई सम्झना पत्र प्रदान गरे । गत जेठ ६ गते भएको नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत कार्यसमिति चयन गरेपछि बुधवार पदस्थापन गरिएको हो ।

harsha-subba-voice

pawan-maya-ko-chinobaburam-daidhurba-pawan-bidaripress-union-new-team