धरान : मुलुकमा सङ्घीय गणतन्त्र आएपछि धरानको राजनीति अहिले सङ्क्रमणकालीन अवस्थामा रहेकोले शिक्षा, स्वास्थ्य र पर्यटन विकासको मुद्दा यतिबेला ओझेलमा परेको नेपाली काँग्रेसले ठहर गरेको छ ।

काँग्रेस धरान उपमहानगरद्वारा आज शुक्रवार आयोजित पार्टीको प्रथम नगर सम्मेलनमा सभापति श्याम पोखरेलले राजनैतिक अवधारणा प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरे । उनले भने ‘धरान आज विकासको सहरको रूपमा भन्दा पनि विवादको सहरको रूपमा चित्रित हुँदै गएको छ ।’

स्वतन्त्र उम्मेदवारको उदय र गत आम निर्वाचनमा परम्परागत दलहरू प्रतिको आकर्षणमा ह्रास आउँदै गएको देखिएको छ । उपमहानगरपालिकाको नेतृत्व दलहरू विरोधी लोकतन्त्रको मूल्य र मान्यता विरोधी, प्रेस स्वतन्त्रता विरोधी र सङ्घीयता विरोधीका रूपमा देखिएको सभापति पोखरेलले बताए ।

अवधारणा पत्रमा भनिएको छ ‘उपमहानगरपालिकाको नेतृत्वले अहिले सम्म करदाता, व्यवसायीसँग छलफल गरेको थाहा छैन ।’ धरानलाई पर्यटनको क्षेत्र बनाउन उद्दत् पर्यटन व्यवसायी र अभियन्तासँग सहकार्य गरिएको सुनिएको छैन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्ध बनाएको देखिएको छैन ।

पूर्व प्रमुख, उपप्रमुख लगायत धरानका लब्ध प्रतिष्ठित र धरान निर्माणका अभियन्ताहरुसंग सल्लाह, सुझाव र समन्वय गरेको पाईएको छैन । यसरी विकासका सबै अवयवहरूलाई बेवास्ता गरेर धरान बनाउँछु भन्ने उनको भावनाले धरानका अन्य सबै क्षेत्र धरापमा पर्दै गएका छन् ।

काँग्रेस सभापति पोखरेलले भने ‘हिजो हाम्रो नेतृत्वले निर्णय गरेका प्रदेश र केन्द्रमा पहल गरेर भइरहेका विकासका कार्यहरूलाई ‘मैले गरेको’ भनेर श्रेय लिइरहेका छन् । पहल र प्रयास नगर्ने तर श्रेय मात्र लिने उनको क्रियाकलापले धरानलाई उन्नत नगर हैन, गाउँ बनाउने बाटोमा लगिरहेको आभास भएको छ ।’

धरानको लाइफ लाइन हुने र प्रशस्त पानी आउन सक्ने, लेउती धरान सुरुङ्ग मार्गलाई बन्न दिन्न भन्ने अनि कोशीको पानी ल्याउँछु भन्ने विरोधपूर्ण कुराले पानीको नाममा भ्रम फैलिने काम भइरहेको काँग्रेसको ठहर छ ।

उनले भने ‘यो भ्रम विरुद्ध नागरिकलाई सचेत गराउन पनि जरुरी रहेको हामीले देखेका छौँ ।’ नागरिकलाई कन्भिन्स गर्न नसक्दा, उनैका कारण रानी-धरान-शिवधारा बाटो धरानभित्र छिर्न नसकेर आयोजना फर्किएको छ ।

यसको दोष र जिम्मेवारी वर्तमान धरान उपमहानगरपालिका नेतृत्वले लिनुपर्दछ भन्ने नेपाली काँग्रेसको स्पष्ट धारणा रहेको सभापति पोखरेलले बताए ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पताल बनाउने अभिप्रायले नेपाली काँग्रेसको सरकारले स्थापना गरेको थियो । भारतको एम्स कलेजको मोडलमा खुलेको प्रतिष्ठान भ्रष्टाचारको दलदलमा भासिँदै गएको छ ।

अझ यसलाई सङ्घीय सरकार अन्तर्गत केन्द्रीय संरचनामा लैजाने कुरा भइरहेको छ । यो कुराको नेपाली काँग्रेसले घोर विरोध गर्ने बताउँदै सभापति पोखरेलले भने ‘प्रतिष्ठानलाई स्वायत्त नै रहन दिएर, यहाँको भ्रष्टाचार निर्मूल गर्दै यसलाई उत्कृष्ट बनाउनु पर्ने काँग्रेसको माग रहेको छ ।’

सभापति पोखरेलले अवधारणापत्र प्रस्तुत गर्दै पार्टी कार्यकर्तामा अहिले देखिएको विचलनका बारेमा भने ‘नेताहरू संगठक भन्दा बढी सेलिब्रिटी बन्दै गइरहेका छन् । 

कार्यकर्ताको मुल्यांङ्कन आफ्नो वरिपरि गणेश परिक्रमा गर्ने कार्यमा आधारित भइरहेको छ । तलदेखि माथिसम्म गुटबन्दीमा नेताहरूले कार्यकर्तालाई अलमल्याइ रहेका छन् ।’

महाधिवेशनको बेला नेतृत्व लिन चाहनेले आफ्नो समूह बनाएर पार्टीको आन्तरिक निर्वाचनमा होमिनु स्वाभाविक नै हो । तर, त्यसैका आधारमा सधैँका लागि समूहलाई गुटका रूपमा तयार गरेर गुटबन्दी गर्नाले कार्यकर्ताहरू पार्टीको विचार तर्फ आकर्षित हुने भन्दा नेता प्रति वफादार हुने देखिएको छ ।

सभापति पोखरेलले भने ‘यो भयावह समस्या हो । यसबाट मुक्त हुन पार्टीमा भएका गुटबन्दीको अन्त्यका लागि यो सम्मेलन मार्फत जोडदार माग गर्दछु ।’

काँग्रेस नगर सम्मेलनमा प्रमुख अतिथि युवा नेता पूर्व केन्द्रीय सदस्य गुरु घिमिरेले जति सुकै ठुलो पार्टी भए पनि विधि, विधानमा नचलेमा पार्टी समाप्त हुने निश्चित भएको बताउँदै काँग्रेसको अवस्था अहिले त्यस्तै अवस्थामा रहेको बताए ।

उनले भने ‘चुनाव र चुनावपछिका समय ठुलठुला राजनीतिक घटना र निर्णयहरू भए तर पार्टी केन्द्रीय समितिको बैठक बसेन र पार्टीमा छलफल भएन ।’

धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राई, काँग्रेस जिल्ला सभापति केदार भण्डारी, चित्र राईले धरानमा काँग्रेसको अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एक ढिक्का बनाउन स्थानिय नेताहरू कार्यकर्ता माझ जानु पर्नेमा जोड दिए ।

काँग्रेस उपमहानगर सचिव हिमाल श्रेष्ठले सम्मेलन सञ्चालन गरेका थिए भने अर्का सचिव जितेन्द्र राईले पार्टीको साङ्गठनिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मेलनमा काँग्रेसका अगुवा स्थानिय नेता/नेतृहरू ७ जना सहित वीपी प्रतिष्ठानका दुई जना डाक्टर  र धरानको ट्राफिक व्यवस्थापनलाई नयाँ मोडमा ल्याएर एकतर्फी प्रणाली लागु गरेका सुनसरी जिल्ला ट्राफिक प्रहरी निरीक्षक श्यामबहादुर बस्नेतलाई सम्मानित गरिएको थियो ।

वीपी प्रतिष्ठानका सम्मानित डाक्टरहरूमा डा.ध्रुव उप्रेती र डा.एलिन सुन्दास छन् । काँग्रेसका अगुवा नेताहरूमा कृष्णप्रसाद सुवेदी, राजविमल श्रेष्ठ, मिना पुलामी, शान्तिदेवी राई, प्रेमकुमार राई, हेमकुमारी विक र सिता दाहाल छन् ।

congress-sammana