इटहरी : कोशी प्रदेशको नामकरण परिवर्तन गर्नुपर्ने माग गर्दै पहिचानवादी संस्थाहरूले इटहरीमा सांस्कृतिक आन्दोलन गरेका छन् । इटहरी चोकमा पहिचानवादीको संस्कृति झल्काउने पहिरन, खाना र नाच सहित आन्दोलन भएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार इटहरीको मुख्य चोकमा दुई घण्टा लामो सांस्कृतिक प्रदर्शनी भयो । कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग गर्दै पहिचानवादीहरू आन्दोलनमा होमिएका छन् । कोसीले प्रदेशवासीको पहिचानलाई प्रतिनिधित्व गर्न नसक्ने भन्दै आन्दोलन हुँदै आएको छ । प्रदेशसभाले कोशी नाम पारित गरेपछि आन्दोलन चर्किएको हो । केही दिन अगाडि विराटनगरमा भएको प्रदर्शनमा दर्जन बढी आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएका थिए ।

पछिल्लो समय आन्दोलनको पक्षमा दलहरूले समेत साथ दिन थालेको किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन राईले बताए । माओवादीले पुनर्विचार गर्न सकिने धारणा राखेको बताउँदै उनले कांग्रेसपनि वार्ता र संवादको पक्षमा रहेको जानकारी दिए । नामकरण परिवर्तन नभए सम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।

itahari chowk andalon 2