धरान : कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग गरेकोमा आपत्ति जनाउँदै पहिचानका लागि युथ फर आइडेन्टटी नामक सङ्गठनले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई त्यसो नगर्न ध्यानाकर्षण गराएको छ । 

युथ फर आइडेन्टीटीले शुक्रवार मेयर साम्पाङलाई कार्यकक्षमा भेटेरै कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगरिदिन ध्यानाकर्षण गराएको हो । 

मेयर सम्पाङ र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई कोशी प्रदेश नामको विरुद्ध आफूहरूको आन्दोलन जारी रहेको अवगत गराउँदै उपमहानगरपालिकाको कोशी प्रदेश लेखिएको लेटरप्याड र छाप प्रयोग नगर्न ध्यानाकर्षण गरिएको सुनसरी संयोजक राजु के राईले बताए । 

उनका अनुसार आग्रहलाई नगर प्रमुख राईले सकारात्मक रूपमा  लिएका छन् । राईले भने ‘मेयर साम्पाङले ‘लेटरप्याड र छापको बारेमा मलाई भन्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई भन्दा राम्रो भन्नुभयो ।’

सोही अनुसार प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई भेटेर ध्यानाकर्षण गराएको उनले बताए । संयोजक राईले भने ‘प्रतिक्रिया राम्रो पाएका छौ हेरौँ के हुन्छ कार्यान्वयन हुन्छ होला ।’

यसअघि पनि पहिचानवादी १४ घटकले धरान उपमहानगरपालिका बन्द गर्दै कोशी लेखिएको लेटरप्याड र छाप उपमहानगरपालिकाको मुख्य गेट अगाडी जलाएका थिए ।

youth-for-identity