धरान : कोशी नाम खारेज आन्दोलनको संयुक्त सङ्घर्ष समितिले इलाम र उदयपुरमा पहिचानवादीहरूको घरघरमा प्रहरीले घेराउ गरी खानतलासी गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।

समितिले शुक्रवार जरी वक्तव्यमा जेठ २५ गते इलाममा भएको घट्नाका विषयलाई पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीबाट अतिरञ्जित गरी  जनताबिच मुठभेड गराउने उद्देश्यले अभिव्यक्त प्रतिशोधपूर्ण भनाइपछि प्रहरी आतङ्क बढेको उल्लेख वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ ‘जेठ २५ गते प्रदेशको नाम कोशी प्रस्ताव गर्ने राम राना मगरलाई इलामको इलाम-११ सोयाकमा र प्रदेश सभाको उपसभामुख सिर्जना दनुवारलाई उदयपुरको गाईघाटमा कालो झण्डा प्रदर्शन भएको हो ।’

प्रदेशवासी जनताको चाहना विपरीत प्रदेश नं १ को नाम छापामार शैलीमा जबरजस्ती कोशी राखिएकै दिन २०७९ फागुन १७ गतेदेखि नै आन्दोलन जारी छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण धर्ना, जुलुस र विरोध प्रदर्शनकै क्रममा उक्त सामान्य घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

सोही घटनालाई लिएर उदयपुर गाईघाटमा किरात राई यायोक्खा लगायतका पदाधिकारी सदस्यहरूलाई र इलाममा पहिचान पक्षधर नेता कार्यकर्ताहरूको घरघरमा प्रहरी पुगेर घरपरिवार र गाउँ नै आतङ्कित बनाउने कार्य भइरहेको छ ।

वक्तव्यमा शान्तिपूर्ण राजनैतिक आन्दोलनलाई अपराधीकरण गर्ने हर्कत तुरुन्त बन्द गर्न अनुरोध गर्दै समस्या समाधानको उपाय खोज्नुको साटो प्रदेशलाई द्वन्द्वतिर धकेल्ने प्रयास भए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकार र सम्बन्धित पक्षले लिनुपर्ने जानकारी दिइएको छ ।

PR-80-02-27