इटहरी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेताको चाकरी गर्न भन्दा कार्यकर्ताको मन जित्ने काममा लाग्नुपर्ने बताएका छन् ।

मोरङको क्षेत्र नम्बर ३ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कार्यकर्ताबाट सर्वसम्मत भएर वा आन्तरिक निर्वाचन जितेपछि मात्र टिकट पाउने व्यवस्था सुरु हुन लागेको बताए ।

नेताको घरमा जानुभन्दा कार्यकर्ताको घरमा गएर समस्या बुझ्दै र सङ्गठन गर्न आग्रह गरे । पार्टीको सदस्यता अनलाइनबाट पाउन सकिने बताउँदै कसैले रोकेर पनि क्रियाशील सदस्यता पाउनबाट कोही पनि वञ्चित नहुने उनले सुनाए ।

‘२०८४ मा वडाध्यक्ष, पालिका अध्यक्ष देखी मेयरको टिकट स्थानीय कार्यकर्ताले दिन्छन् । कार्यकर्ताले सर्वसम्मत गरेनन् भने आन्तरिक मतदान हुन्छ । जसले जित्छ उही उम्मेदवार बन्छ ।,’ उनले भने, ‘विगतमा विचार सिद्धान्त नमिल्ने सँग गरिएको गठबन्धनको कारण काँग्रेसले जनतामा आशा जगाउन सकेन । म देशभर घुम्दा निराशा पाउँछु । रिसाएका भए केही फकाउन सकिन्थ्यो । तर निराशाले डर लागेको छ । निराश भएका युवा लाई आशा जगाउने काँग्रेस चाहिएको छ । भोलीको बारेमा भरोसा देखाउन सक्ने काँग्रेस । जुन अहिले हुन सकेको छैन ।’

आगामी २०८४ को चुनावमा काँग्रेसलाई कुनै समस्या नभएको उनले प्रष्ट पारे । ‘धेरैले आगामी निर्वाचनको चिन्ता लिएको देख्छु । काँग्रेसले ३२९ पालिका जितेको छ । ५ प्रदेश मा काँग्रेस ठुलो पार्टी छ । केन्द्रमा काँग्रेस नै ठुलो छ । सरकारमा काँग्रेस छ । सबैतिर काँग्रेस भएको अवस्थामा किन चिन्ता लिने ? जिम्मेवारी पाएका ठाउँमा राम्रो काम गर्दा कसरी चुनाव हारिन्छ ? एक रुपैयाँ पनि भ्रष्टाचार नगरौँ त कसरी चुनाव हारिन्छ । काम गर्नुपर्यो नि खबरदारी गर्नुपर्यो नि कसरी हारिन्छ चुनाव ?,’ उनले प्रश्न गरे ।

जनताको मुद्दामा भन्दा काँग्रेस सरकारमा केन्द्रित भएको धारणा राखे । सरकारमा जानको लागि गठबन्धन गर्न बाध्य हुनुपर्ने अवस्थाले काँग्रेसको छवि बिग्रिएको थापाको चिन्ता छ । ‘सरकार टिकाउन गलत निर्णय गर्न थाल्यौँ । पार्टी सरकारमा आएर खुम्चिएको छ । चुनाव हारे हारिन्छ तर गठबन्धन हुँदैन । एक पटक हैन पाँच पटक हारे पनि केही हुँदैन । तर जनतामा आशा जनाउन सक्नुपर्छ । लोकतन्त्र बचाउन सक्नुपर्छ,’ उनले थपे ।