इटहरी : नेपाली काँग्रेस रूपान्तरण अभियान अन्तरगत कोशी प्रदेशको इटहरीमा आयोजित कार्यक्रममा नेताहरूको कारण पार्टी सङ्कटमा परेको धारणा राखे । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाबाट आएका कार्यकर्ताले पार्टी जोगाउन समस्या पर्दै गएको बताए ।

ताप्लेजुङका पूर्व जिल्ला सभापति केशव दाहालको पार्टीमा रूपान्तरण मात्र नभएर पुस्तान्तरण पनि जरुरी रहेको सुनाए । चार जना नेताले मुलुक चलाएको भन्दै उनले पार्टी र सङ्गठन ध्वस्त बनाएर सिद्धान्त नमिल्ने सँग गठबन्धन गर्न लगाएको उनको गुनासो छ । गाउँमा कहिल्यै नटेक्ने नेताबाट काँग्रेस बच्न नसक्ने उनको भनाई छ ।

रूपान्तरण अभियानकै कार्यक्रममा सहभागी हुन पुगेका भेषराज आचार्यले टिकट बेच्ने देखी राजदूतको नाममा पैसा उठाउने दलालहरूले पार्टीको नेतृत्व गरिरहेको गुनासो गरे । रूपान्तरण जरुरी रहेको बताउँदै उनले कम्युनिष्ट सँग गठबन्धन गर्ने काँग्रेस नचाहिएको बताए । जनताको सुख दुखमा लड्ने र समस्या समाधान गर्न सक्ने काँग्रेस समयको माग भएको धारणा राखे ।

उदयपुरकी प्रमीला राईले सबै मिलेर काँग्रेस बचाउने अभियानमा लाग्न आग्रह गरिन् । रूपान्तरण अभियानले काँग्रेस बचाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

काँग्रेस नेता गुरुराज घिमिरेको संयोजकत्वमा सात वटै प्रदेशमा रूपान्तरण अभियान सम्पन्न भएको छ । यसपछि विदेश स्थित समन्वय समिति सँग विद्युतीय माध्यमबाट छलफल चलाइने घिमिरेले बताए ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट प्रतिनिधिको रूपमा काँग्रेस कार्यकर्ताको सहभागिता रह्यो । पार्टी नेतृत्वलाई समयानुसार अगाडी बढ्न दबाब दिँदै विशेष महाधिवेशनको माग सहित रूपान्तरण अभियान चालिएको घिमिरेको भनाई छ । कुनै गुटको विपक्षमा लाग्ने भन्दा पनि काँग्रेसलाई सबलीकरण गर्न अभियान चालेको उनले प्रष्ट पारे ।