इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरीमा दोस्रो खुल्ला व्यायामशालाको उद्घाटन गरेका छन् । इटहरी-५,बराह टोल स्थित बराह टोलमा नगर स्तरीय योजनाको ५ लाख रुपैयाँ र उपभोक्ता लागत साझेदारीको ७४ हजार ६५ गरी जम्मा ५ लाख ७४ हजार ६५ रुपैयाँको लागतमा खुल्ला व्यायामशालाको उद्घाटन गरिएको हो । 

इटहरीको प्रमुख आवश्यकता बाढी नियन्त्रण,शिक्षा र स्वास्थ्य भएकाले आफूले जनतामाझ गरेका प्रतिबद्धता पूरा गरिछाड्ने प्रतिबद्धता मेयर पौडेलले समेत गरे । व्यक्तिको स्वास्थ्य भन्दा ठुलो सम्पत्ति कुनै नभएको भन्दै मेयर पौडेलले स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम पनि अपरिहार्य हुँदै गएकाले इटहरी उपमहानगरपालिका भर आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरी २५ वटा  थप खुल्ला व्यायामशाला समेत निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याए । 

इटहरीका विकास आवश्यकताका आधारमा प्राथमिकताका तय गरी क्रमिक रूपमा पूरा गर्ने उद्घोष गर्दै आफ्नो कारणले जनताको शिर झुक्न नदिने र आफूले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्ने वचन दिए । 

दिगो र गुणस्तरीय विकासका लागि पालिकाबाट हुने विकास निर्माणका काममा नागरिकको सहभागिता, खबरदारी र सहयोग अत्यावश्यक भएको मेयर पौडेलको भनाई छ ।