धरान : नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ ।
प्रशिक्षणको सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गरेका थिए । हरिनगर गाउँपालिकाको सभा हलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो ।
अग्रज पत्रकार कृष्ण अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यहरू अमर खड्का,  भीषण राई, इकवाल अहमद, कृष्ण जुनेली भट्टराई लगायतले तालिममा सहजीकरण गरेका थिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्रमा भएका विकास तथा सामाजिक विकाशका कुराहरू मिडियामा तुलनात्मक रूपमा कम सम्प्रेषण भएको गुनासो गरेका थिए । 
उनले आफूले धेरै विकास गरे पनि सञ्चार माध्यममा नआएको गुनासो पोखेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन कोसी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विकास र ग्रामीण पत्रकारितालाई जोड दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा युनियनकी केन्द्रीय सचिव रोजिना गौतमले प्रशिक्षण वर्षका लागि पाठ्यक्रम तयार भइरहेको जानकारी दिइन । उनले पत्रकारको क्षमता विकासका लागि युनियनले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्ने समेत बताइन ।
सो अवसरमा सुनसरीका पूर्व अध्यक्ष चेतन धमला, गणेश निरौला, धनबहादुर पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
युनियनले २०८० लाई प्रशिक्षणको वर्ष घोषणा गरेको छ । केन्द्रीय समितिले घोषणा गरेको अभियानलाई सुनसरीको ग्रामीण क्षेत्रबाट सुरु गरिएको अध्यक्ष ध्रुव ढकालले जानकारी दिए ।
तालिममा सुनसरीका ४० जनाभन्दा बढी सक्रिय पत्रकारको सहभागिता रहेको थियो ।
union-talim-2
union-talim-krishna-2union-tali-3-amar