धरान : मोरङ जिल्ला अदालत र झापा जिल्ला अदालतको फैसलाबाट दोषी साबित भई सजाय तोकिएपछि फरार रहेका दुई जनालाई पक्राउ गरी अदालतको जिम्मा लगाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लागुऔषध र अभद्र व्यवहार मुद्दामा पक्राउ दोषी साबित भई सजाय तोकिएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धरान-१५ का २८ वर्षीय सञ्जय तामाङ र  मोरङ बुढिगंगा गाउँपालिका-३ का ३४ वर्षीय विशाल सुबेदी छन् ।

सञ्जय तामाङलाई लागुऔषध मुद्दामा झापा जिल्ला अदालतले २०७५ भदौ २५ गते फैसला गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसला लगत्तै फरार भएका सञ्जय तामाङलाई खोजतलास गर्दा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतमा बुझाइएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चन्द्रगढी बुझाइएको छ ।

यसैगरी विशाल सुवेदीलाई अभद्र व्यवहार मुद्दामा मोरङ जिल्ला अदालतले २०७९ वैशाख १२ गते फैसला सुनाउँदै २ महिना ५ दिन कैद र ३ हजार जरिवाना तोकेको थियो ।

फैसला लगत्तै फरार रहेका सुबेदीलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।