धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना घोषित गरिने सर्वोत्कृष्ट प्रहरी जेठ महिनामा अस्थायी प्रहरी चौकी मङ्गलवारे, मोरङका प्रहरी सहायक निरीक्षक हेमनारायण यादव र प्रहरी चौकी मुक्ली, सोलुखुम्बुका प्रहरी जवान लक्ष्मण बुढाथोकी सर्वोत्कृष्ट प्रहरी भएका छन् ।

सहायक निरीक्षक यादवले गत जेठ २५ गते उर्लाबारी-३ नयाँ मङ्गलवारेमा राजमार्गमा बसमा आगजनी गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गर्न सफल भएका थिए ।

मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले प्रदेश नं. ०१-०१-०१३ प २९० नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला झापा कमल गाउँपालिका-२ का पवन सुबेदीको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर बसमा आगो लगाउने कार्यमा संलग्न मानिसहरूको पहिचान गरी नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएकोमा यादवलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी जवान बुढाथोकीले जेठ ११ गते सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-७ मा बलात्कार पछि हत्या गरेर फरार भएका अभियुक्त २० वर्षीय युवराज खत्रीलाई घट्नाको ३ दिन पछि पक्राउ गरेका थिए ।

उक्त घट्नामा ५१ वर्षकी कुमारी राईलाई सामूहिक बलात्कार गरी फलामको कर्नी समेतले टाउको, अनुहार शरीरको विभिन्न भागमा प्रहार गरी हत्या भएको थियो ।

मृतकको रगताम्य शव घटनास्थलमा छोडेर फरार भएका अभियुक्तहरू मध्ये थुलुङ-दुधकोशी-७ का खत्रीलाई जेठ १४ गते प्रहरी जवान बुढाथोकीले पक्राउ गरेका थिए ।

उक्त कार्यबाट प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाएकोले उचित मूल्याङ्कन गर्दै कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गरिएको जनाइएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र प्रदेशभरका इलाका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आएको छ ।