धरान : कोशी नाम खारेज गरी प्रदेशको पूनःनामकरणको आन्दोलनलाई सहयोग पुर्‍याएको आशङ्कामा प्रहरीले लिखित आदेश दिदैं एउटा बैङ्क खाता रोक्का गरेकोमा आन्दोलनकारी, समर्थकहरूले विरोध जनाएका छन् ।
भक्तपुर स्थित जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले २०७९ चैत १९ गतेको मितिमा ग्लोबल आईएमआई बैङ्कको भक्तपुर गट्ठाघर शाखालाई पत्र लेखेर बैङ्क खाता रोक्का गर्न आदेश दिएको हो ।
राज्यले खाता रोक्का गरेको भनी बैङ्कले लिखित जानकारी भने भने सरोकारवालाहरूलाई दिएको थिएन ।
खाता आन्दोलनकारी घटक संस्थाका ३ जना पदाधिकारीको नाममा संयुक्त रूपमा खोलिएको थियो ।
किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ती तुम्बापोका अनुसार बैङ्कमा जाँदा खाता 'लक' भएको छ मात्र भनियो । उनले भनिन् ‘हामीलाई बैङ्कले लिखित जानकारी नदिएकोमा त्यसैबेला विरोध गरेका थियौँ ।’
हालै मात्र मिडियामा प्रहरीको पत्र सार्वजनिक भएपछि प्रहरीको लिखित आदेशका आन्दोलनकारीको बैङ्क खाता रोक्का गरिएको रहेछ भन्ने कुरा खुलेको उनले बताइन् ।
तत्कालीन १ नम्बर प्रदेश सभाले सुनियोजित तरिकाले प्रदेशको नामकरण गर्दैछ भन्ने थाहापाए लगत्तै संयुक्त सङ्घर्ष समिति गठन भई चेत १८ गते देखी विराटनगर केन्द्रित आन्दोलन घोषणा गरिएको थियो ।
त्यसको भोली पल्टै प्रहरीले बैङ्क खाता रोक्का गर्ने पत्र समेत लेखेकाले प्रदेश १ को कोशी नामकरण मुख्यमन्त्री हिक्मत कार्कीबाट षडयन्त्रपूर्वक भएको थियो भन्ने पनि यसले पुष्टि गर्ने उनले बताइन् ।
राज्यद्वारा नागरिकको बिना सूचना बैङ्क खाता रोक्का गरिएको घट्नाको आन्दोलनकारीद्वारा व्यापक विरोध भएको छ ।
संयुक्त सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले खाता रोक्काको भर्त्सना गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘तिम्रो बन्धन र छेकबारले कहाँ पो छेक्न सक्यौ ?’
‘हाम्रो इतिहास लुट्यौ, हाम्रो सभ्यता लुट्यौ, हाम्रो पहिचान लुट्यौ, अहिले जाबो हाम्रो बैङ्क खाता लुट्यौ । कातर सरकार !’
पहिचानवादी नेता अमर इजमले बैङ्क खाता रोक्कालाई ‘नाङ्लो ठटाएर हात्ती खेद्ने उखान’ चरितार्थ भएको उल्लेख गर्दै लेखेका छन् ‘यो कायर सरकारले हाम्रो खाता रोकेर पहिचानवादी आन्दोलन रोकिँदैन ।’
जब सम्म हाम्रो विचार र आन्दोलनकारीको मागलाई सम्बोधन गर्दैनौ कायर सरकार जब सम्म कोशी नाम खारेज गर्दैनौ तब सम्म आन्दोलन रोकिँदैन ।
रोकिँदैन मात्र होइन आन्दोलनको स्वरूप फेरिन्छ खबरदार सरकार । ‘कोशी प्रदेश नाम मुर्दावाद’, उनले फेसबुक स्ट्याटसमा लेखेका छन् ।
BAnk Accounte