झापा : झापाको दमकमा वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना हुने भएको छ । 
दमक उद्योग वाणिज्य सङ्घको आयोजना तथा हेलभेटास नेपालको प्राविधिक सहयोगमा रोजगार मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
मेला बारे जानकारी दिन आज आयोजकले पत्रकार सम्मेलन गर्दै मेला असार १४ गते आयोजना गरिने जानकारी दिएको हो । स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारीको सृजना गर्नु नै यो वृत्ति विकास तथा रोजगार मेलाको मुख्य उद्देश्य रहेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईँले जानकारी दिए ।
वृत्ति परामर्श तथा रोजगार मेला २०८० मा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइनेछ भने सिपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिमबारे जानकारी दिइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यसै गरी यो मेलाबाट राेजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने र रोजगारीकै खोजीमा युवा शक्तिलाई बिदेसिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।