धरान : कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधान बमोजिम नयाँ प्रदेश सरकार गठन गर्न असार २१ गते बिहीबार ५ बजे भित्र दाबी पेश गर्न प्रदेश सभाका राजनीतिक दलहरूलाई आव्हान गरेका छन् ।

नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम २०७९ पुस २४ गते नियुक्त मुख्यमन्त्री हिक्मत कुमार अल्पमतमा परेपछि पदमुक्त भएकाले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न प्रदेश प्रमुखले आव्हान गरेका हुन् ।

मुख्यमन्त्री कार्की नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । कार्कीले असार १४ गते प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव राखेका थिए ।

सोही धाराको उपधारा ३  बमोजिम असार १५ गते मतदान हुँदा प्रस्ताव पारित हुन नसकी कार्की पदमुक्त भएको प्रदेश प्रमुखको सचिवालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राजनीतिक दलहरूलाई असार २१ गते बिहीबार अपराह्न ५ को समय सीमा तोकिएको छ ।

मुख्यमन्त्री नियुक्त गरी निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आव्हान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

PRADESH-PRAMUKH-BIGYAPTI