धरान : नेपाली कांग्रेसले आयोजना गरेको नकआउट खुला मिक्स डबल ब्याडमिन्टन प्रतियोगितामा राजकुमार थोप्रा र भूपेन्द्र राई प्रथम भएका छन् । फाइनल खेलमा सन्जुहाङ लिम्बु र नीरज लिम्बुलाई २१-१६ र २१-१४ को सोझो सेटमा हराउँदै थोप्रा र राई प्रथम भएका हुन् । त्यसैगरी खेमशंकर भण्डारी र विकास लिम्बु तथा दिपेन्द्र खड्का र सुवर्ण श्रेष्ठ तेस्रो भएका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद मिना सुब्बाले विशेष संवोधन गरेका थिए । कार्यक्रममा नेता चन्द्रप्रसाद श्रेष्ठ, प्रदेश सदस्य गणेश परियार, अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य सुवास राई, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, पूर्व नगर सभापति किशोर राई, वडा अध्यक्ष प्रविन राई, जिल्ला सदस्य विनोद घिमिरे, क्षेत्रीय सल्लाहकारहरू गोविन्द बस्नेत, रत्न रिमाल, अजय राई, निर्मला गुरुङ, नेपाल तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, नेपाल महिला संघ प्रदेश १(१) सभापति निर्मला नेपाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव जितेन्द्र राईले गरेका थिए ।

प्रतियोगितामा १०८ जना खेलाडीहरू सहभागी भएको प्रतियोगिता संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामाले बताए । सहभागी खेलाडीहरूलाई थप हौसला प्रदान गर्न प्रमाण-पत्र समेत प्रदान गरिएको र प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई असार ३० गते हुने सम्मेलनमा महामन्त्री गगनकुमार थापाबाट प्रमाण-पत्र, मेडल र नगद पुरस्कार प्रदान गरिने समेत उनले बताए ।

कांग्रेसले सम्मेलनको अवसरमा असार २१ गते १ बजे वराहक्षेत्र ५ मा रहेको कालाबन्जार हलमा रस्सी तान प्रतियोगिता, असार २२ गते धरान-२ स्थित लोकतान्त्रिक चौक (भानुचौक) बाट ५ कि.मि. दौड प्रतियोगिता र सोही दिन २ बजे धरान १७ मा रहेको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा नेपाल पत्रकार महासंघ र पार्टी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि आयोजना गर्न लागेको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

असार २९ र ३० गते कांग्रेसका प्रभावशाली युवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान-१३ स्थित धरान व्यान्क्वेटमा दुई दिने सम्मेलन गर्ने समेत क्षेत्रीय सह-सचिव सुमित राईले बताए ।

badminton pratiyogita 2