विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिहान ६ बजे नै घरबाट निस्कन्छन् । मर्निङवाकमा भने होइन । महानगरमा कुन-कुन ठाउँमा फोहोर थुप्रिएको छ, कता कता पानी जमेको छ स्थलगत ठाउँहरू चहार्दै हिँड्छन् ।

मेयर कोइरालाले ‘प्रभातकालीन अनुगमन’को रुटिन नै बनाएका छन् । हरेक बिहान ६ बजे निस्कन्छन् र साढे ९ बजे घर फर्किन्छन् । बुधवार बिहान अनुगमकै क्रममा मेयर विराटनगरका विभिन्न ठाउँहरू पुगे ।

सरसफाइ शाखा, नगर प्रहरी र सचिवालयको टिम सहित निस्किएका उनले जाँदा जाँदै एक ठाउँमा ड्रेनका प्वाल टालिएर पिच सडकमा जमेको पानी खोल्न लगाए ।

मेयर कोइरालाले वडा २, ३, ७ र १२ वडाको विभिन्न ठाउँ अनुगमन गरेका हुन । पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका ढल सफाइ सुरु गरेको थियो ।

सफाइ कार्यले सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । अविरल वर्षामा पनि रुझेर  अनुगमनमा हिँडेको देख्ने स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

महानगर बनाउने र विराटनगरवासीलाई दुःख नहोस् भनेर मेयर कोइराला सक्रिय भएको विराटनगर–३ का स्थानीय सुशान्त बस्नेतले बताउँछन् । उनले भने ‘मेयर साबको काम गर्ने शैली प्रशंसा योग्य छ ।’

विराटनगरमा पार्किङ र सरसफाइमा देशभरै स्थानीय तहमध्ये उत्कृष्ट काम मेयर कोइरालाबाट भएको उनले बताए । महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा मेयर सहित जनप्रतिनिधिहरूको टिम लागेको बस्नेतले बताए ।

महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा समेत रोक लगाएको छ । साउन १ गते देखि सुर्तीजन्य पदार्थको दर्ता र नवीकरण गर्ने निर्णय समेत महानगरपालिकाले गरिसकेको छ ।

biratnagar-mayor-anugaman