इटहरी : नेकपा एमालेले सभामुखलाई गणना गरेर मुख्यमन्त्री नियुक्त नगर्न दबाब दिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमलाई समेत गणना गरिएको भन्दै आपत्ति जनाएको हो ।

एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले ध्यानाकर्षण पत्र मार्फत सचेत गराएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्दा सभामुखलाई गणना गर्न नमिल्ने पत्रमा उल्लेख गरिएको छ।

कार्कीले गत असार १५ गते मैले प्रदेश सभामा विश्वासको मत प्रस्ताव अस्वीकृत भएपछि प्रदेश प्रमुखले असार १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार आह्वान गरेका हुन् । असार २१ (आज) बेलुका ५ बजेसम्ममा बहुमत सदस्यको समर्थन बुझाउनु पर्ने भएको छ ।

मौजुदा प्रदेश सभा सदस्य सङ्ख्याको बहुमत सङ्ख्या अर्थात् ४७ नपुग्ने अवस्था देखिएकाले सभामुखलाई समेत गणना गर्नु आपत्तिजनक भएको एमालेको ठहर छ । सभामुख गौतमले २०७९ पौष २८ गते प्रदेश सभाको बैठकमा कुनै दलमा आबद्ध नभएको पुष्टि गरेको कारण गणना गर्न नसकिने बताइएको छ । 

वहाँले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको सदस्यता परित्याग गरेको कुरा विवाद रहित रहेको पत्रमा उल्लेख गरिएको छ। अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने जानकारी गराइएको छ । गठबन्धनका दलहरूले आजै दाबी पेस गर्दै छन् ।