धरान : नागरिकता ऐन, (पहिलो संशोधन) २०७९ बमोजिम जन्मको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गर्नेको सङ्ख्या धरान हिजो शुक्रवार सम्म कुल १३९ जना पुगेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

संशोधित ऐन अनुसार धरानमा इलाका प्रशासन कार्यालयले असार १२ गते देखी जन्मको आधारमा नागरिकता वितरण गर्न थालेको छ । संशोधित ऐन बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकहरूका सन्तानलाई  धरानमा पनि नागरिकता प्रदान गर्न थालिएको हो ।

इलाका प्रशासन शाखा अधिकृत लोकमान श्रेष्ठका अनुसार जन्मका आधारमा नागरिकता पाउन ११ बुँदे सूचना जारी गरिएको छ ।इलाका प्रशासनमा दैनिक ५० भन्दा बढीको सङ्ख्यामा आएता पनि प्रक्रिया पुर्‍याएर जन्मसिद्ध नागरिकता पाउनेको सङ्ख्या ज्यादै कम रहेको उनले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार असार १२ गतेबाट २१ गते सम्म महिला ७७ जना पुरुष ६२ गरी जम्मा १३९ जनाले जन्मसिद्ध अधिकारका आधारमा नागरिकता प्राप्त गरेका छन् ।

जन्मको आधारमा नागरिकताका लागि दैनिक धेरै आउने गरे तापनि प्रमाण पुर्‍याएर नागरिकता पाउनेको सङ्ख्या दैनिक ७ देखी बढीमा २६ जना छन् ।

तथ्याङ्क अनुसार असार १२ गते ५ महिला २ पुरुष गरी जम्मा ७ जना, असार १३ गते १४ महिला १० पुरुष जम्मा गरी २४ जना, असार १५ गते १४ महिला १६ पुरुष गरी जम्मा ३० जना, असार १७ गते १६ महिला १० पुरुष गरी जम्मा २६ जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् ।

यसै गरी असार १८ गते ११ महिला ५ पुरुष गरी जम्मा १६ जना, असार १९ गते ६ महिला ८ पुरुष गरी १४ जना, असार २० गते ७ महिला ४ पुरुष गरी जम्मा ११ जना, असार २१ गते ४ महिला ७ पुरुष गरी जम्मा ११ जना गरी हाल सम्म १३९ जनाले नागरिकता प्राप्त गरेका छन् ।

शाखा अधिकृत श्रेष्ठले भने ‘सूचना अनुरूप सम्पूर्ण कागजात पुरा संलग्न गरी निवेदन दिनेहरूले सहज रूपमा नागरिकता पाएका छन् ।’

ऐन अनुसार १६ वर्ष ३५ दिन काटेका नागरिक आए जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार रहेको उनले बताए । प्रमाण सहित आएका निवेदन दिएकाहरूलाई बिना झन्झट सजिलै नागरिकता दिने व्यवस्था रहेको उनको भनाई छ । 

ilaka-prasan-2शुक्रवार नागरिकता लिने लाइनमा बसेका धरान-९ का मोहम्मद सम्साद आलमले भने जन्मसिद्ध नागरिकता बनाउन झन्झटिलो रहेको बताए ।

उनि धरान वडा ३ मा जन्म लिई धरानमै प्रौढावास्थामा पुगेका नागरिक हुन् । उनले भने ‘पहिला मेरो नागरिकता बनाउँदा सजिलै लिएको थिएँ, अहिले छोराछोरीको नागरिकता बनाउन गाह्रो भएको लाग्यो ।’

उनी २ जना छोराहरू २१ वर्षीय मोहम्मद सर्फराज आलम र १९ वर्षीय छोरा मोहम्मद अस्फार्द आलमको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय पुगेका हुन् ।

उनले भने ‘छोराहरूको नागरिकता लिन बढो झन्झटिलो भयो, वडामा सरजर्मिन गरियो, सम्पूर्ण डकुमेन्ट लिएर आउँदा समेत अनेक झमेला व्यहोर्न परेको छ ।’

ऐन अनुसार निवेदकको बाबु र आमा दुवैको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सक्कल जन्म दर्ताको प्रमाणपत्र अनिवार्य हुनपर्नेछ ।

शैक्षिक प्रमाणपत्र विदेशी मुलुकबाट अध्ययन गरेको भएमा नेपाल सरकारबाट मानयता प्राप्त निकायबाट समकक्षता निर्धारण गरिदिएको हुनुपर्ने व्यवस्था छ ।

बाबु आमा, निवेदक र सनाखत गर्ने बिचको फोटो सहितको नाता प्रमाणित हुनुपर्ने छ । स्थायी बसोबास खुल्ने कागजात, एक संगोल परिवारको नाममा भए जग्गाधनी प्रमाण पुर्जा, नक्सा पास भएको प्रमाण संलग्न गर्नुपर्नेछ । 

मतदाता परिचयपत्र, स्थायी लेखा नम्बर पानी तथा बिजुलीको बिल, २०६३ को टोलीमा नाबालक दर्ता गरेको भएमा सोको निस्सा आदि अनिवार्य हुनुपर्ने छ ।

बसाइसराइ आएको हकमा बसाइसराइ दर्ता प्रमाणपत्र हुने पर्नेछ । निवेदकको आमाको नागरिकतामा बाबुको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र तथा नाता प्रमाणित अनिवार्य हुनु पर्नेछ ।

बाबु आमाको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य हुनु पर्नेछ । सम्बन्धित अधिकारीले आवश्यक थप प्रमाण बुझ्न सक्नेछ । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेपछि संशोधित ऐन अनुसार जन्मको आधारमा नागरिकता वितरण सुरु भएको हो ।

संसद्को दुवै सदनबाट पारित विधेयक २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष २०७९ साउन १६ मा पठाइएको थियो । राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सांसदलाई फिर्ता पठाएकी थिइन् ।

पुनः दुवै सदनबाट दोस्रो पटक हुबहु पारित भएको विधेयक २०७९ भदौ २० गते राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।