इटहरी : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रीमण्डल बिस्तार गरेका छन् ।

शुक्रवार २ मन्त्री नियुक्त गरेका उनले आइतबार माओवादी केन्द्रबाट २ र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त तिनैजना मन्त्रीहरूले आजै शपथग्रहण गरेका छन्।

माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् भने काङ्ग्रेसबाट रामकुमार खत्री पहिलो पटक मन्त्री भएका छन् । आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका छन् भने बाँकी मन्त्रीको मन्त्रालय टुङ्गो लागेको छैन ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रवार शपथ ग्रहण गरेका थिए । सभामुख बाबुराम गौतमले असंवैधानिक रूपमा मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै रिट परेको छ ।

मुख्यमन्त्री थापा, सभामुख गौतम सहित प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाएर एमालेले रिट दायर गरेको हो । सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।