विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताएका छन् ।

विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एक तले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावी पुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताए ।

उनले सबैको सामूहिक प्रयास र प्रयत्नबाट मात्रै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउन सकिने विचार व्यक्त गरे ।

“आफ्नो घर अगाडि सफा राख्ने, समयमै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोरी भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,” मेयर कोइरालाले भने, “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो । म अहिले मेयर छु । म पनि यहीँको बासिन्दा हुँ ।”

विराटनगर बनाउन महानगरवासी आ-आफ्नो ठाउँबाट जागरूक हुनु जरुरी रहेको उल्लेख गरे ।

पसल र घर अगाडि हरेकले दुई वटा गमला राख्ने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उनको भनाइ थियो । महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको प्रस्ट पारे ।

उनले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृदय हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने बताए ।

कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्केलगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रह गरेका थिए ।

सन्सारी माई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहलगायतका कार्यमा प्रयोग गरिनेछ ।