विराटनगर : विराटनगर महानगरपालिकाले २०७९ सालको एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । 

बिहीबार महानगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेका हुन ।

४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टङ्क गौतमले अबिर र खादा लगाएर सम्मान पत्र प्रदान गरे ।

४ जीपीए ल्याउने तीनै जना विराटनगर–११ स्थित विकेभिएम स्कुलका विद्यार्थी हुन् । कोसी प्रदेशमा ४ जीपीए ल्याउने ५ जना विद्यार्थीमध्ये ३ जना विराटनगरका हुन् । 

त्यसै गरी सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने पोखरिया माविका रचिता दंगाल, सविना कोइराला र रोहन साहलाई पनि सम्मान गरिएको थियो ।

उनीहरू तीन जनाले ३.९५ जीपीए ल्याएका थिए । सो अवसरमा विकेभिएम स्कुल र पोखरिया माविलाई समेत सम्मान गरिएको थियो । विकेभिएमका प्रिन्सिपल रविन दाहाल र पोखरियाका प्रधानाध्यापक खेमराज भट्टराईलाई मेयर कोइरालाले सम्मानपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्ने बाटोमा अगाडि बढेको बताए । उनले विराटनगरले शैक्षिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्नुले महानगरको प्रतिष्ठासमेत बढेको उल्लेख गरे ।

सम्मानपछि विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर एसइई समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।