इटहरी : इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रवार बसेको शिक्षा महाशाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो ।

दस वटा आधारभूत र पाँच वटा माध्यमिक तहका विद्यालयहरू कारबाहीको दायरामा आउने भएका हुन् । आधारभूत तहका विद्यालयलाई पचास हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउन निर्णय भएको शाखा अधिकृत फाल्गुनी प्रसाद काफ्लेले बताए ।

पचास हजार जरिवाना तिर्नुपर्ने विद्यालयमा जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एन्ड हर्ट इङ्लिस बोर्डिङ स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्डेन मन्टेश्वरी, हेप्पील्याण्ड चाईल्ड डे कियर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, सुनाखरी विद्या मन्दिर र जानकी मन्टेश्वरी स्कुल रहेका छन् ।

गोल्डेन फ्यूचर इङ्लिस बोर्डिङ  स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटिल केयर बोर्डिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।

उपमहानगरपालिकाले छात्रवृत्तिको विषयलाई गम्भीरताका साथ अगाडी बढाएको छ । शिक्षा नियमावलीमा उल्लेख भए अनुसार १० प्रतिशत अनिवार्य छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान अनुसार उपमहानगरले कडाइ गर्न लागेको हो । उपमहानगरपालिकाले कक्षा ११ को लागि छात्रवृत्ति लिने विद्यार्थीको लागि सूचना आह्वान गरेको छ ।

साउन १५ गते सम्म निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले आवेदन भर्न पाउने भएका छन् ।