इटहरी : इटहरी उपमहानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीको लागि आवेदन खुल्ला गरेको छ । कक्षाका ११ लागि संस्थागत (निजी) विद्यालयमा छात्रवृत्ति कोटामा पढ्न चाहनले साउन १५ गते सम्म आवेदन खुल्ला गरेको हो ।

शिक्षा महाशाखाका अधिकृत फाल्गुनीप्रसाद काफ्लेका अनुसार उपमहानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ को लागि छात्रवृत्तिको लागि आह्वान गरिएको हो । जसको लागि साउन १ गते देखी १५ गते बेलुका ५ बजेसम्म आवेदन बुझाउनुपर्ने उनले बताए । छात्रवृत्तिका लागि साउन २२ गते बिहान ११ बजे परीक्षा हुने उपमहानगरले जनाएको छ ।

आवेदन फाराम भर्न उपमहानगरपालिकाको वेबसाइट www.itaharimun.gov.np बाट फारम डाउनलोड गरेर भर्न सकिने व्यवस्था मिलाइएको छ । फारम भरे पश्चात् उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । कक्षा १० सम्मका पाठ्यपुस्तकबाट समेटिएर सय वटा बस्तुगत विषयगत प्रश्न गरिने उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निजी शैक्षिक संस्थाले शिक्षा नियमावलीमा उल्लेख भए अनुसार १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने विषयलाई  कडाइका साथ अगाडी बढाएका छन् । गरिब, अल्पसङ्ख्यक तथा जेहेन्दार विद्यार्थीको लागि छुट्ट्याइएको छात्रवृत्तिमा सोही समूहका विद्यार्थी हुनुपर्ने उनको अडान छ ।

सोही अनुसार उपमहानगर आफैले विद्यार्थी तोकेर छात्रवृत्ति बाढ्न लागेको हो ।