झापा : दमक नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।

नगरपालिकाको १३ औँ नगरसभाले घरपालुवा कुकर पालन व्यवसायलाई थप व्यवस्थित गर्न अनिवार्य रूपमा कुकुर सूचीकृत गर्ने निर्णय गरेको नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिइन ।

उनका अनुसार अव कार्यविधि बनाएर कुकुर दर्ता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिने कार्यमा सहज हुने नगर उप प्रमुख भट्टराईले बताइन ।

नगरपालिकाले पशु सेवा शाखाको समन्वयमा दमकमा १० वटै वडा तहमा घरपालुवा कुकुरको दर्ता गर्ने व्यवस्था गरिने पशु सेवाका शाखाका अधिकृत गणेशबहादुर प्रधानले बताए ।

उनले घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि तयार गरी यस कार्यक्रमलाई कार्यान्वयन गरिने बताए । यस कार्यक्रमले कुकुर पालन थप व्यवस्थित हुने उनको भनाई छ ।

उनका अनुसार घरपालुवा कुकुर सूचीकृत गरिएसँगै कुकुरको सङ्ख्या, जात, रेबिज खोप, औषधी र कुकुर मरे त्यसको व्यवस्थापन गर्न सघाउ पुर्‍याउने छ ।

दमकमा ठुलो सङ्ख्यामा घरपालुवा कुकुर कुकुर पालिँदै आएको अनुमान छ । त्यस्तै, सामुदायिक कुकुरको झनै समस्याका रूपमा रहँदै आएको छ । झापाको १५ वटा स्थानीय तह मध्ये दमकले पहिलो पटक घरपालुवा कुकुरको सूचीकृत कार्य अघि बढाएको नगरपालिकाले जनाएको छ ।