धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेङ्गु क्लिनिकमा आउने ज्वरोका बिरामीहरू मध्ये ७५ दशमलव ०९प्रतिशतमा डेङ्गुको सङ्क्रमण भएको पाइएको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा.चूडामणि पोखरलका अनुसार क्लिनिकमा आएका ८१९ जनाको परीक्षण गर्दा ७५ दशमलव ०९ प्रतिशत अर्थात् ६१५ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । उक्त सङ्ख्या असार २९ देखी साउन ७ गते सम्मको हो ।

प्रतिष्ठानमा ज्वरोका बिरामीहरूको चाप र परीक्षणमा डेङ्गु सङ्क्रमणको सङ्ख्या बढेपछि तत्काल उपचारका लागि आज आइतबार देखी  छुट्टै डेङ्गु वार्ड सञ्चालनमा ल्याइएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

धरान लगायत सुनसरी सहित अन्य जिल्लाहरूमा पनि डेङ्गु फिबर व्यापक रूपमा फैंलिदै गएको छ । ती स्थानहरूबाट पनि बिरामीहरू बिपीमा ल्याउने गरिएकाले डेङ्गु प्रभावितहरूको अत्यधिक चाप बढेको छ ।

प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजपुरमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले सङ्क्रमित भई उपचारका लागि भर्ना हुनेलाई मध्यनजर गरी आइतबार देखी छुट्टै डेङ्गु वार्ड सञ्चालनमा ल्याइएको विज्ञप्ति उल्लेख छ । 

प्रतिष्ठानले धर्मशालाको पूर्व तर्फ स्थित कोभिड अस्पताल भवनमा हाललाई ३० बेडको छुट्टै डेङ्गु वार्डको व्यवस्था गरेको हो । इमर्जेन्सीमा डेङ्गुका बिरामीको चाप अत्यधिक वृद्धि भएकोले वार्ड नै सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित नभई सहज रूपमा उपचार सेवा पाउन   अन्य रोगका बिरामीहरूको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले छुट्टै डेङ्गु वार्डको व्यवस्था गरिएको छ ।’

प्रतिष्ठानको इमर्जेन्सी, ओपिडीमा आएका डेंङगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आइसीयु,  इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ । त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेङ्गुका बिरामीहरूलाई छुट्टै वार्डमा भर्ना गरी उपचार गरिने जनाइएको छ ।

हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंङगु वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तारका साथै सघन उपचार सेवा आइसीयु समेत सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।