इटहरी : नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले सम्बन्धित तहको टिकट सोही समितिलाई बाढ्ने जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन् ।

वडाको टिकट वडा समितिले, मेयर वा पालिका अध्यक्षको पालिका समितिले र प्रदेश क्षेत्रीय समितिको टिकट प्रदेश समितिले टिकट बाढ्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

केन्द्रीय समितिमा धारणा राख्दै कोइरालाले प्रतिनिधिसभाको टिकट मात्र केन्द्रीय समितिले बाढ्ने व्यवस्था गर्न अनुरोध गरे । एक व्यक्ती एक पदको व्यवस्था लागिगर्नुपर्ने बताएका उनले जुनसुकै तहको भए पनि सभापतिले उम्मेदवार बन्नै नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

केन्द्रीय समिति बैठकले काँग्रेसलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका कोइरालाले घरका गृहिणीले पनि बैठक सुन्न पाएकोमा खुसी व्यक्त गरे ।

केन्द्रीय समितिले अन्तर्राष्ट्रिय सम्बन्धको र आर्थिक नीतिको विषयमा निर्णय गर्नुपर्ने बताए । भातृ संस्थालाई पूर्णता दिने देखी १६५ निर्वाचन क्षेत्रमा कम्तीमा ३ महिनाको लागि केन्द्रीय नेतालाई खटाएर शुद्धीकरण अभियान चलाउनुपर्ने विचार व्यक्त गरे ।

तिनै तहका सरकारलाई जनताको मन छुने काम गरेर लोकप्रिय कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुपर्ने उनको भनाइ छ । वडा तहमै क्रियाशील सदस्यता दिने व्यवस्था मिलाउने देखी मन्त्री र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

अनुशासनको कारबाहीको सन्दर्भमा कुनै जिल्लामा कारबाही गर्ने र कुनै जिल्लामा नहुने व्यवस्था हटाउनुपर्ने उनको धारणा छ ।