झापा : झापामा लागु औषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछ्र्याैट भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागु औषध कारोबारी पक्राउ परेका र ती मध्ये १६ देखि ६० वर्षमाथि सम्मका व्यक्ति छन् ।

उनले १६ वर्षमुनिका एक, १६ देखि २५ वर्ष उमेर समूहका एक सय सत्ताइस, ३६ देखि ४५ वर्षका ३८, छयालिसदेखि ६० वर्षका १२ र ६० वर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको जानकारी दिए ।

जिल्लाका काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवल लगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागु औषध प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ । प्रवक्ता रिजालले गत आर्थिक वर्षमा लागु औषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको सङ्ख्या नौ सय ६२ जना रहेको बताए ।

उनले एक वर्षको अवधिमा लागु औषधि मुद्दामा करिब दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, एक सय १५ लुपिजेसिक, एक सय ३० एमपुल डाइजापाम, एक सय २५ एम्पुल फेनरागन, नाइट्रोजन चक्की लगायत बरामद गरेको जानकारी दिए ।