धरान : सोमबार कपुरी न्युजले  टिभिएस धरानले ग्राहकसँग एमआरपी भन्दा बढी शुल्क लिएर ‘लोकल ग्यारेज’का मेकानिकलाई कमिसन दिएको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस धरानले गल्ती गरेको स्वीकार गर्दै ग्राहकबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न भनेको हो ।

जगदम्बा मोटर्सका एक प्रतिनिधिले मेकानिकलाई दिनुपर्ने कमिसनको १० प्रतिशत एमआरपी भित्रबाट काट्नुपर्ने बताए । उनले भने,‘त्यो दिन बिल काउन्टरमा नयाँ कर्मचारी भएकाले बिलमा त्रुटि भएको रहेछ । हामीले ग्राहकसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न भनेका छौँ।’

प्राप्त भ्याट बिल अनुसार पाटर्सको मूल्य १६ हजार ८५८ रुपैयाँ देखिन्छ । सो मा १३ प्रतिशत भ्याट थपेर १९ हजार ५० रुपैयाँ लिएको छ । टिभएस धरानले सोही रकमको १० प्रतिशत अर्थात् १ हजार ९ सय रुपैयाँ ‘लोकल ग्यारेज’का मेकानिकलाई दिएको हो । तर पीडित ग्राहक आफैँ मोटर पार्टस् किन्न शोरुममा गएर बिल आफैँ तिरेको बताउँछन् । ‘मैले बिचौलिया राखेर सामान खरिद गरेको होइन । मैले आफै टिभिएसको आधिकारिक शोरुममा गएर सामान किनेको हुँ ।’

१९ हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकलाई एक रुपैयाँ पनि छुट नदिने शोरुमले यसरी ग्राहकलाई थाहै नदिई एमआरपी बढाएर मेकानिकलाई कमिसन दिनु गलत हो । भन्छन्-‘म सचेत थिएँ र पैसा फिर्ता पाए । अन्य ग्राहकहरू पनि ठगिएका होलान् नि !’

यता, टिभिएस धरानका संचालक गंगा लिम्बूले आफ्नो तर्फबाट गल्ती भएपनि अन्य ग्राहकसँग त्यस्तो घटना नभएको बताए । उनले भने, ‘मेकानिकलाई एमआरपीबाट १० प्रतिशत दिने गरेका थियौ । ग्राहकलाई थप शुल्क लिने हाम्रो मनसाय थिएन, तर यस पटक बिल बनाउँदा त्रुटि भयो । हामीले उहाँबाट लिएको अतिरिक्त रकम फिर्ता गरेका छौ ।’