धरान : धरान-तरहरा सडक खण्डको सेउती पुलमा दुई साता अघि लुटपाट गरी रोहित चौधरीलाई  गोली हानी हत्या गरेको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार थप पक्राउ पर्ने दुई जनामा भद्रपुर-१ घर भई हाल धरान-८ बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बु र विराटनगर-१५ का ४१ वर्षीय अजयकुमार शर्मा छन् ।

विराटनगर-५ का २८ वर्षीय चौधरीको हत्यामा संलग्न दुई जनालाई यसअघि पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । ती दुई जना धरान-१० का ३४ वर्षीय अनसन तामाङ र लेटाङ-१ का ३५ वर्षीय दीपक तिम्सिना (पर्वत) हुन् ।

पछिल्लो पटक लिम्बु र शर्मालाई कोसी प्रदेश प्रहरी, नेपाल प्रदेश प्रहरी धरान, सुनसरी जिल्ला प्रहरी, इलाका प्रहरी इटहरीको संयुक्त टोलीले साउन १८ गते पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका अजयकुमार शर्मा चौधरीको हत्यामा प्रयोग भएको चाइनिज पेस्तोल बेचबिखनमा संलग्न रहेका पाइएको छ । उनी यसअघि लागुऔषध मुद्दामा ४ वर्ष ८ महिना जेल बसेर ४ महिना अघि छुटेको कुरा अनुसन्धानबाट खुलेको बताइएको छ ।

यसअघि पक्राउ परेका तामाङ र तिमिल्सिनाबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, गोली ९ राउन्ड, म्यागेजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान, खुकुरी २ थान, मोवायल ५ थान, औँठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद थियो ।

गएको साउन ५ गते प्रेमिका सुमना खत्रीसँग घुमेर फर्कँदै गर्दा धरान-तरहरा बिचको जङ्गलमा लुटपाट र हत्याको घट्न भएको थियो ।

लुटपाट गर्न खोज्दा चौधरीले होहल्ला गर्दै प्रतिकार गरेपछि गोली र खुकुरी प्रहार गरिएको पक्राउ परेका अभियुक्तले बताएका छन् । दीपक तिम्सिनाले प्रहार गरेको गोली कोखामा लागेर गम्भीर घाइते भएका चौधरीलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याई उपचार गर्दा गर्दै मृत्यु भएको थियो ।