धरान : धरान उपमहानगरपालिकाले सरोकारवाला संस्थाहरूको सहमतिमा डेङ्गु परीक्षणको अधिकतम शुल्क प्रतिव्यक्ति ५५० रुपैयाँ कायम गरेको छ । यसअघि स्थानीय क्लिनिकहरूले ७०० देखी १५०० रुपैयाँसम्म मनोमानी रूपमा शुल्क असुल गर्दै आएका थिए । 

धरानमा फैलेको डेङ्गु महामारीमा सर्वसाधारणलाई डेङ्गु नै भएको हो कि होइन भनी परीक्षण गर्न मनोमानी रकम लिएको भनी व्यापक जन गुनासो आएको थियो ।

धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाको सभापतित्वमा शनिवार बसेको संयुक्त बैठकले निजी अस्पताल स्वास्थ्य संस्थाहरूले एउटै दरमा रेपिड टेष्ट शुल्क लिने भनी ५५० रुपैयाँ कायम गरेको हो ।

बैठकमा स्वास्थ्य महाशाखा, धरानका निजी क्लिनिक, ल्याब, फार्मेसी, निजी अस्पतालका प्रतिनिधि तथा सुनसरी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ सुनसरीका प्रतिनिधिहरूको सहभागी थिए ।

डेङगु रोकथाम तथा नियन्त्रणका लागि निजी ल्याब, क्लिनिक, निजी अस्पतलाहरुले महामारी समयावधि भर सामाजिक दायित्व वहन गर्दै औषधीहरू तोकिएको मूल्यमा बिक्री वितरण गर्ने सहमति भएको छ । साथै थप उपचार सेवा न्यूनतम शुल्कमा प्रदान गर्ने निर्णय पनि भएको उपमेयर बेघाले बताए । 

उनले भने ‘उपमहानगरपालिकाले सम्पूर्ण ध्यान डेङ्गु नियन्त्रणमा केन्द्रित गरेको छ ।’ सोही अनुसार रेपिड टेष्टको शुल्कमा एकरूपता कायम गरिएको हो । उक्त निर्णयमा तत्काल सम्पूर्ण स्वास्थ्य सेवी संस्थाहरूले सहमति जनाएका छन् ।

उनले भने ‘कायम गरिएको दररेट अनुसार सेवा प्रदान गरिएको छ छैन भनी उपमहानगरपालिकाले बजार अनुगम गर्ने सहमति पनि भएको छ ।’  

महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा अहिले सम्म डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ८ जना पुगेको छ । उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा हालसम्म ५ हजार ७२ जनाले डेङ्गु परीक्षण गराएका छन् । त्यस मध्ये ३ हजार १२८ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । 

लामखुट्टेको वृद्धि विकास रोक्न २० वटै वडामा सर्च एण्ड डिष्ट्रोई अभियान भइरहेकोले सङ्क्रमण दर हप्ता दिन देखि स्थिर रहेको उनले दाबी गरे । डेङ्गु महामारीबाट बिरामी भएकाहरूलाई धरान ८ स्थित सभागृहमा र छाता चोकमा रहेको पुरानो अस्पतालमा केन्द्र स्थापना गरी उपचार गराइरहेको छ ।

स्वास्थ्य संस्थाहरूको संयुक्त बैठकमा स्वास्थ्य महाशाखा प्रमुख मेहता, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, रामबाबु यादव, औषधी व्यवसायी प्रभात कुमार श्रेष्ठ, वीरेन्द्र मेडिकल हल सुरेश यादव, स्वास्थ्यकर्मी अजित कुमार ठाकुर, जन स्वास्थ्य निरीक्षक विजयकुमार शाह, न्यु मोर्डन डायोनिष्ट सेन्टरका अनिल राई, दीपक सिलवाल, एनसिडिए सुनसरी उपाध्यक्ष प्रभात श्रेष्ठ सहभागी थिए ।

यसैगरी सुनसरी उद्योग वाणिज्य सङ्घका किसन मास्के, नेपाल पत्रकार महासङ्घ सुनसरी सहसचिव तीर्थ कार्की, विजयपुर हस्पिटल प्रालीका प्रभाव खतिवडा, सुनसरी प्याथोलोजिका भरत यादव, धरान स्वास्थ्य शाखा अधिकृत रामकुमार राईको बैठकमा उपस्थित थिए ।