इटहरी : जनता बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचन शनिवार सम्पन्न भएको छ । निर्वाचन मार्फत आगामी ३ वर्षको लागी नयाँ समिति चयन भएको हो ।

कुल ७२९ परिषद् सदस्यमा ६०४ मत खसेको थियो । १३ मत बदर हुँदा ५९१ सदरमत मध्ये शेखर लुइँटेलले सर्वाधिक ४०८ मत पाएका छन् । दोस्रोमा स्वतन्त्र उम्मेदवारी दिएका कुलबहादुर कार्की (राजकुमार) ले ३९९ मत पाएर विजयी भएका छन् ।

स्वतन्त्र तर्फबाट कार्की सहित गङ्गाप्रसाद भट्टराई र उर्मिलादेवी कटवाल विजयी भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाको संयुक्त गठबन्धन चुनावी मैदानमा होमिएको हो । जसमध्ये दलहरूको तर्फबाट लुइँटेल सहित विकल रेग्मी, विकास केसि, अम्बिका श्रेष्ठ, तिर्थराज पराजुली, युगप्रिय निरौला, इश्वर भट्टराई, शिबराज दाहाल, दिनेशकुमार भट्टराई र रेवतीप्रसाद घिमिरे विजयी भएका छन् ।

शुक्रवारसम्म गठबन्धनमा रहेको रास्वपाले बाहिर रहने निर्णय गरेको थियो । रास्वपाका उम्मेदवार मात्रीका रेग्मिले जम्मा ५६ मत प्राप्त गरे । गठबन्धनका बाबजुद माओवादीका मुक्तिनाथ रिजाल र एमालेका भैरवप्रसाद सापकोटा पराजित भए ।

१७ सदस्यीय समितिको लागी ४ सदस्य मनोनीत हुने व्यवस्था छ । जसपाले मनोनीतमा भाग पाउने भएको छ । मनोनीत सहित निर्वाचित समितिले पदाधिकारी र विभिन्न समिति/उपसमिति चयन गर्नेछ ।