धरान : इलामको माङसेबुङ गाउँपालिका-९ का ३० वर्षीय युवराज लिम्बु झापाको झापा गाउँपालिका-४ नेपाल-भारत सीमा क्षेत्रमा शनिवार साँझ ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लिम्बुलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको हो ।

टाघनडुब्बा प्रहरी चौकीको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेका लिम्बुलाई शङ्का लागि चेकजाँच गर्दा साइकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको बताइएको छ ।

यसैगरी शनिवार साँझ मोरङ बेलबारी-४ का ३३ वर्षीय सनम गुरुङलाई विराटनगर-१६ मा ९१० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १-०२-०५२ प ७५९६ नम्बरको मोटरसाइकलमा आइरहेका गुरुङलाई लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी टोलीले चेक जाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको हो ।