धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले मिलेनियम सभा हललाई डेङ्गु उपचार केन्द्रमा परिणत गरेको छ । हलमा डेङ्गुका बिरामीहरूको उपचारका लागि हाल २० बेडको व्यवस्था गरिएको अध्यक्ष विजय श्रेष्ठले बताए । शिविर मङ्गलवार बिहान देखी विधिवत् सञ्चालनमा आउने छ ।

उनका अनुसार शिविरमा आउने बिरामीको चाप अनुसार ३० बेडको बनाइने व्यवस्था गरिएको छ । डेङ्गु उपचार शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा स्थापना गरिएको हो ।

बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव शर्माले आज साँझ शिविर सञ्चालनका लागि खटिने स्वास्थ्य स्वयं सेविका, केएचडिसीका स्वास्थ्यकर्मी, सरोकावारवाला संस्थाका प्रतिनिधिहरूका बिच शिविर सञ्चालनको पद्धति, प्रक्रियाका बारेमा अनुशिक्षण दिएका छन् ।

शिविरमा आउने डेङ्गुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गरिने डा.शर्माले बताए । बिरामीको अवस्था गम्भीर देखिए तत्काल शिविरबाट बिपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ ।

डेङ्गु मध्यम अवस्थामा रहेका बिरामीलाई प्रारम्भिक उपचार गरी प्रतिष्ठान स्थित डेङ्गु अस्पताल पठाइने व्यवस्था गरिएको छ । डेङ्गुका प्रारम्भिक अवस्थाका बिरामीहरूलाई शिविरमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ ।

अनुशिक्षण कार्यक्रममा प्रतिष्ठानका प्रा.डा.विक्रम श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघाको पनि उपस्थिति थियो । सङ्घका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको अनुशिक्षणको सञ्चालन महासचिव महेन्द्र प्रधानले गरेका थिए ।

उक्त निःशुल्क शिविर धरानमा डेङ्गु महामारी पूर्ण रूपमा नियन्त्रणमा नआए सम्म सञ्चालन गरिने सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Sunsari udhyog sang