धरान : संस्कृत शिक्षासेवी नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई धर्मशास्त्र पुरस्कारबाट सम्मानित भएका छन् ।

उनलाई जीवनको उत्तरार्धमा समेत संस्कृत शिक्षाको क्षेत्रमा क्रियाशील रहेको योगदानलाई उच्च सम्मान गर्दै ११ हजार १११ रुपैयाँ राशि सहित सम्मान पत्र प्रदान गरिएको हो ।

उक्त पुरस्कार वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई, सहप्राध्यापक नेत्र विनोद भट्टराई र आचार्य छविलाल भट्टराईद्वारा यसै वर्ष स्थापना गरिएको हो । भट्टराई परिवारले शिक्षा तथा समाजसेवी पिता स्व. मनोरथ भट्टराईको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।

पुरस्कारबाट सम्मानित पुरुषोत्तम भट्टराई धरान-१४ विजयपुर स्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयका संस्थापक हुन् । कक्षा १२ सम्म सञ्चालन भइरहेको विद्यालय भट्टराई सुरुमा निजी लगानी र पछि दाताहरूको सहयोग सञ्चालन गर्दै आएका छन् । माविमा ७० जना विद्यार्थीले निःशुल्क पढिरहेका छन् ।

उक्त पुरस्कार सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई २/२ वर्षमा प्रदान गरिने छ । पुरस्कार स्थापना भएपछि पहिलो पटक शिक्षासेवी पुरुषोत्तम भट्टराई पुरस्कृत गरिएको हो ।