धरान : पिण्डेश्वर विद्यापीठ, अनुसन्धान व्यवस्थापन एकाइको आयोजना एवम् विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वैशाख २१ गतेदेखि २३ गतेसम्म पिण्डेश्वर विद्यापीठको कालिदास भवनमा तीनदिने अनुसन्धान प्रविधि तालिम सम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडाले उद्घाटन गरी सुरु भएको उक्त कार्यक्रम जम्मा १२ वटा सत्रहरूमा सम्पन्न भएको थियो । कार्यक्रममा डा.अच्युत कट्टेल, डा.दीपक न्यौपाने, सहप्रा. मदनराज बराल, डा.दिवाकर रेग्मी, प्रा.डा.अशोककुमार झा, डा.भवानीशङ्कर भट्टराई, डा.रामजी तिम्सिना, उपप्रा.अनिल अधिकारी, डा.रमेश घिमिरे, प्रा.डा. चक्रपाणि खनाललगायतका विषयविज्ञ विद्ववान्हरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा.डा.पारस पोखरेल, सहप्रा.डा.मोहन तुम्बाहाङ,. प्रा.डा.गोविन्द तुम्बाहाङ,. प्रा.डा.चन्द्रमणि नेपाललगायतका विज्ञहरूले सत्राध्यक्षका रूपमा रही कार्यपत्रमाथि समीक्षा प्रस्तुत गरेका थिए ।

प्रस्तोताहरूले शोधसँग सम्बन्धित प्रस्तावलेखन, सामग्री सङ्कलन र व्यवस्थापन, शोधशीर्षक चयन, पूर्वकार्यसमीक्षा लेखन, शोधका ढाँचाहरू, संस्कृत सन्दर्भाङ्कन परम्परा, शोधमा सैद्धान्तिक पक्षको उपयोग, शोधसामग्री विश्लेषण र निष्कर्षणका प्रक्रिया, शोधप्रतिवेदनका प्रमुख अङ्गहरूको संयोजन, संस्कृत साहित्यका अनुसन्धेय विषयहरूको खोजीजस्ता शीर्षकहरूमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा करिब ४० जना प्राध्यापक एवम् शिक्षकहरूले अनुसन्धान प्रविधि तालिम प्राप्त गरेको कुरा कार्यक्रमका सभापति एवम् एकाइका संयोजक डा.महानन्द तिमिल्सिनाले बताए । सूक्ष्म अनुसन्धानबाट नयाँ तथ्यहरू पत्ता लाग्ने र  गहिरो खोजबाट पत्ता लागेको तथ्यबाट नै देशको गरिमा बढ्ने भएकाले अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने विषय ने.सं.वि.का शिक्षाध्यक्ष डा.खतिवडाले बताए ।

यसैगरी आयुर्वेद, योग, प्राकृतिक चिकित्साजस्ता विषयहरूमा नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य गर्दै अघि बढ्न सकिने कुरा समापन समारोहका प्रमुख अतिथि वीपी प्रतिष्ठानका प्रा.डा.सञ्जीव शर्माले बताए ।

तीन दिनसम्म चलेको यस कार्यक्रमको सञ्चालन डा.रमेश लिम्बूले गरेका थिए भने डा.पुष्पलाल न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रतिवेदन डा.नित्यानन्द खतिवडा र सहा.प्रा.अम्बरराज ढकालले तयार गरेका थिए ।

कार्यक्रमका सहभागीहरूलाई धन्यवाद दिँदै विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले अनुसन्धानका क्षेत्रमा यस कार्यक्रमले विशेष योगदान दिएको कुरा बताए ।

कार्यक्रममा प्रा.डा.भरतप्रसाद भट्टराई, डा.सागरमणि सुवेदी, डा.खेमराज खनाल, डा.कृष्ण भण्डारीलगायतको उपस्थिति थियो ।

pindeshwar-tali-2