धरान : डेङ्गु महामारीले आक्रान्त धरानमा डेङ्गु नियन्त्रण तथा उपचारमा सहयोग गर्न नेपाली काँग्रेस धरान उपमहानगर समितिले स्वास्थ्य महाशाखालाई परीक्षण किट तथा औषधी सहयोग हस्तान्तरण गरेको छ ।

धरानमा ४ महिना देखी फैलिएको डेङ्गु रोगको महामारी नियन्त्रण गर्न सोमबार उपमहानगरपालिका परिसरमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाली काँग्रेस धरानले २९५० पत्ता सिटामोल, १७ सय थान जीवनजल, २ सय थान डेङ्गु टेष्ट किट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

धरान उपमहानगरपालिकाको एकद्वार प्रणालीबाट समान रूपमा २० वटै वडाका जनतालाई उपलब्ध गराउने उद्देश्यले नेपाली काँग्रेस धरानले स्वास्थ्य महाशाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको नगर सभापति श्याम पोख्रेलले बताए ।

उनले पार्टीले नै वितरण गर्नुभन्दा एकद्वार प्रणालीबाट धरान उपमहानगरपालिकाबाट नै वितरण गर्नु उचित हुने ठानेर स्वास्थ्य महाशाखालाई हस्तान्तरण गरिएको सभापति पोख्रेलले बताए ।

उनले भने महामारीको समयमा जनतालाई राहत दिन वडाहरूमा कार्यकर्ताहरू परिचालन गरी आधारभूत स्वास्थ्य सामाग्री वितरण भई रहेको समेत जानकारी दिए ।

नेपाली काँग्रेस सदैव महामारीका बेला पार्टी राजनीति भन्दा माथि उठेर जनताको सेवामा लागि परेको सभापति पोख्रेलले बताए । 

नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापा, धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, महासमिति सदस्य सुवास राई, पूर्व सभापति किशोर राई लगायतका नेताहरूले नेपाली काँग्रेस धरानलाई दिएको स्वास्थ्य सामाग्री धरानको स्वास्थ्य महाशाखालाई हस्तान्तरण गरेको उनले जानकारी दिए ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने पार्टीहरूले डेङ्गु महामारीमा सहयोग नगरको भन्ने भ्रमलाई चिर्दै नेपाली काँग्रेस धरानले औषधीहरू अभाव भइरहेको बेला स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । डेङ्गु नियन्त्रण र उपचारमा कसरी सहयोग गर्ने भनेर निरन्तर राजनीतिक दलहरूले समन्वय गरी जनताको पक्षमा छ भन्ने पुष्टि गरेको बताए ।

काँग्रेसको स्वास्थ्य सामाग्री सहयोगले धेरै राहत पुगेको भन्दै स्वास्थ्य महाशाखाले धन्यवाद ज्ञापन पत्र समेत दिएको छ ।

राजनीतिक दलहरूको टोलीले प्रदेश सरकारसँग माग गरेको औषधी तथा सामग्रीहरू साथै सयवटा आईआरएस मेसिन मुख्यमन्त्रीको कार्यालयबाट खरिद प्रक्रिया अगाडी बढाएकोले छिट्टै प्राप्त हुने जानकारी आएको मेहताले बताए । 

काङ्ग्रेसबाट प्राप्त भएको औषधी तथा टेष्ट किटहरू पुरानो अस्पताल र विभिन्न वडाहरूले सञ्चालन गरेको उपचार शिविरमा पठाउने पनि उनले बताए ।

हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, पूर्व नगरप्रमुख तिलक राई, जिल्ला सचिव माधव घिसिङ, काँग्रेस सुनसरी क्षेत्र नं. १ सभापति सुजेन्द्र गोले तामाङ, पर्वत राई, राजेन्द्र राईलगायत नेताहरूको उपस्थिति रहेको थियो ।