विराटनगर : महानगरको ट्राफिक व्यवस्थापनलाई छरितो बनाउन विराटनगर महानगरपालिकाले अघि बढाएको अभियानमा लाई बैंकर्सहरुले सफल बनाउन प्रतिबद्धता जनाएका छन् ।

विराटनगर स्थित बैङ्कहरूका प्रमुखहरूसँग महानगरपालिकाले गरेको छलफलमा उनीहरूले महानगरपालिकाको ट्राफिक योजनलाई सघाउने प्रतिबद्धता जनाएका हुन । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली सँग बुधवार बैंकर्सहरुको छलफल भएको हो ।

उनीहरूले तत्कालका लागि बैङ्कमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङ स्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए । एनएमवी बैङ्कका प्रदेश प्रमुख, नेपाल बैंकर्स एसोसिएसन कोसी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले भने ‘महानगरपालिकाले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो छ ।’

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैङ्कहरूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता छलफलमा जनाइएको जानकारी उनले दिए । बैङ्कहरूले अव सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङ स्थलमा सवारी साधन राख्न लगाउने भएका छन् । उनले भने ‘अबदेखि बैङ्कको कार्यालय सर्दा पार्किङ स्थल भएको ठाउँमा मात्रै सर्नुपर्ने भएको छ ।’

हिमालयन बैङ्कका प्रदेश प्रमुख अमृत मल्लले तत्काल बैङ्कहरूले आफ्नै पार्किङ स्थल बनाउन समस्या रहेकोले बैङ्क छेउछाउ खाली जमिन भए त्यसलाई बैङ्कहरूले भाडामा लिएर भए पनि पार्किङ स्थल बनाउन सक्ने बताए ।

छलफलमा एनआईसी एसिया बैङ्कका प्रमुख हीरा पौडेल, गरिमा विकास बैङ्कका प्रमुख सुजित रेग्मी, माछापुच्छ्रे बैङ्कका उत्सव पराजुली लगायतले महानगरपालिकाको अभियानलाई सफल बनाउन बैङ्कहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

महानगरपालिकाले बैङ्कहरूको पार्किङ स्थलको बारेमा यसअघि पनि छलफल राखेको थियो । बैङ्कमा आउने सेवाग्राहीका सवारीको पार्किङको व्यवस्थापन गर्न बैङ्कहरूलाई पत्राचार समेत गरेको थियो । बैङ्कहरूले पार्किङको व्यवस्थापन नगरेपछि मेयर कोइरालाले पुनः छलफल गरेका हुन ।

भदौ अन्तिम सम्ममा पार्किङ समस्या समाधानको विकल्प सहित पुनः छलफल गरेर टुङ्गो लगाउने छलफलमा सहमति भएको छ । मेयर कोइरालाले विराटनगर महानगर मात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित बनाउनु जरुरी रहेको ध्यानाकर्षण गराएका थिए । उनले भने ‘सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन सकिन्छ ।’

महानगरपालिका प्रहरीका राजन पौडेलले महानगरपालिकाले व्यवस्था गरेको पार्किङ स्थलको बारेमा जानकारी दिएका थिए । छलफलमा विराटनगर स्थित बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरू, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम सहितको सहभागिता थियो ।