विराटनगर : नेपाल-भारत सीमा नाकाहरूमा राजश्व छलेर हुने तस्करी नियन्त्रणका लागि तैनाथ सशस्त्र सीमा सुरक्षा बलको काम पछिल्लो समय लागु औषध पक्राउ गर्नमै समय खर्च हुने गरेको छ ।

विराटनगरमा आयोजित लागु औषध प्रयोगकर्ताहरूको पुनर्स्थापना विषयक अन्तरक्रियामा स्थानीय सरकारले चाहेमा लागु औषध प्रयोग न्यूनीकरण गर्न सक्ने भए पनि त्यसो नहुँदा नियन्त्रण कार्यमा सीमा सुरक्षा बल समेत लाग्नु परेको उदाहरण दिइएको हो ।

रिचमण्ड फेलोसिपका व्यवस्थापक रिकोभरिङ नेपालका उपसभापति संजीव चापागाईँले भने ‘सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको काम राजस्व सम्बन्धी भन्दा लागू औषध पक्राउ गर्नेमै समय खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।’

उनले स्थानीय सरकारले चाहेमा लागू औषध प्रयोगलाई न्यूनीकरण गर्न सक्ने धारणा राख्दै फरक मोडेलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्न जरुरी भएको सुझाव दिए । चापागाईँले लागुऔषध ऐनलाई व्यवहारिक बनाउनु पर्ने जोड दिदैं २०३३ सालको ऐनले खानेलाई पनि दण्ड सजाय गर्ने व्यवस्था व्यवहारिक नभएको बताए ।

लागु औषध ऐन २०३३ संशोधन गर्नुपर्नेमा जोड दिदैं उनले पञ्चायती व्यवस्थामा बनेको कानुन बहुदलीय हुँदै अहिले गणतन्त्रमा आइपुग्दा समयानुकूल ऐन बनाउन रिकभरिङ नेपालको माग भएको बताए ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनः स्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिइन् । स्वरोजगार बनाउन नसकेमा सुधार केन्द्र बसेर निस्किएका युवाले पुनः लागू औषधप्रयोग गर्ने सम्भावना रहने उल्लेख गर्दै उनले भनिन् ‘त्यसबाट रोक्नका लागि पनि उनीहरूलाई कसरी हुन्छ स्वरोजगार बनाउनुपर्छ ।’

महानगरपालिकाले लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका काम गर्दै आएको जानकारी गराउँदै उपमेयर कार्कीले लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्या पछिल्लो समय बढ्दै गएकोमा चिन्ता प्रकट गरिन् । भनिन् ‘विद्यालय स्तरदेखि नै लागुऔषध विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने योजना बनाउनु जरुरी देखिएको छ ।’

अन्तरक्रिया रिकोभरिङ नेपाल र विराटनगर महानगरपालिकाको न्यायिक समितिले आयोजना गरेको हो । न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेले लागू औषध प्रयोगले घरपरिवारसँगै समाजलाई नै समस्यामा पारेको बताउँदै वडा तह देखी नै सचेतना मूलक कार्यक्रम सञ्चालन जरुरी भएकोमा जोड दिए ।  

महानगरपालिका क्षेत्रभित्रबाट उत्पादित वस्तुको खोलमा लागूऔषध विरुद्ध प्रचार राख्न सके केही मात्रामा भए पनि सचेतना फैलिने उनले बताए । रिकोभरिङ नेपालका सभापति चन्द्र बराल, महासचिव जय देवकोटा, स्पर्श नेपालका संजीव खड्का, महानगरपालिका कानुनी सल्लाहकार ज्ञानेन्द्र थापा, डिल्ली घिमिरे, कानुन शाखा अधिकृत शारदा थपलिया लगायतले धारणा राखेका थिए ।