धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ठाडो आदेशमा खाली हात निष्कासित घण्टाघरका कर्मचारी द्वय नर बहादुर लिम्बु राजा र प्रकाश लिम्बुलाई न्याय दिलाउन संयुक्त ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ ।

अन्याय पूर्वका निकालिएका कर्मचारी द्वयलाई पुनः नियुक्त गर्न मेयर साम्पाङलाई दिएको ७ दिने अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै संयुक्त ट्रेड युनियनले सम्शेर बर्देवाको संयोजकत्वमा ३० सदस्यीय  सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएको हो ।

सङ्घर्ष समितिले शुक्रवार घण्टाघरमा पत्रकार सम्मेलन गरी तालिका सहित चरणबद्ध आन्दोलनकाण् घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार शुक्रवारै उनीहरूले घण्टाघर अगाडी १ घण्टा धर्ना बसे ।

आज शनिवार १० बजे घण्टाघरमा तालाबन्दी गर्ने घोषणा गरिएकोमा धरानमा कर्फ्यु आदेश जारी भएकोले स्थगित गरिएको मजदुर नेता लीला बहादुर प्रधानले बताए ।

आन्दोलनका कार्यक्रम अनुसार सङ्घर्ष समितिले क्रमशः धरानका सम्पूर्ण यातायातका सवारी साधनहरू १० बजे देखि ११ बजेसम्म १ घण्टा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

संयुक्त ट्रेड युनियनको मागलाई मेयर साम्पाङले सम्बोधन नगरे अझ सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने मजदुर नेता प्रधानले बताए । उनले भने ‘विना कारण मजदुरको पेटमा लात हानेकोले मजदुर पुन बहाली नभएसम्म आन्दोलन निरन्तर जारी रहन्छ ।’

घण्टाघरको मजदुर पुन नियुक्ति नगरे देशै भरका मजदुर भेला हुने र त्यस बेला उत्पन्न परिस्थितिको जिम्मेवार मेयर साम्पाङनै हुने उनको भनाई छ ।

सङ्घर्ष समितिले घण्टाघरका मजदुरलाई तुरुन्त पुन बहाली गर, स्थानीय सरकार प्रमुख भएर मजदुर मार्न पाइँदैन, श्रमको सम्मान गर, श्रम शोषण मुर्दावाद, श्रमिकको श्रमलाई सम्मान गर भन्दै नारा लगाएका थिए ।

धरान स्थित ३ मजदुर सङ्गठनले घण्टाघरबाट निष्कासित दुई कर्मचारीलाई पुनः नियुक्त गर्न गएको शुक्रवार मेयर हर्क साम्पाङलाई ७ दिने अल्टिमेटम दिएको थियो । घण्टाघरमा १७ वर्ष देखि निरन्तर काम गर्दै आएका कर्मचारी द्वयलाई उमेर हद्दको निहुँमा खाली हात निष्कासित गरिएको छ ।

trade union 2