धरान : डेङ्गु सङ्क्रमणको कारण धरानमा थप वडा १३ र वडा १५ मा एक दिनको फरकमा दुई जना बालबालिकाको मृत्यु भएको छ । तर, स्थानीय सरकार धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखामा डेङ्गुबाट मृत्यु भएको बालबालिकाको तथ्याङ्कमा उक्त घटना अपडेट गरिएको छैन ।
डेङ्गुको कारण धरान-१५ पुष्पाञ्जली मार्गकी १० वर्षकी बालिका दृष्टि श्रेष्ठको बिपी प्रतिष्ठानको एनआईसियुमा उपचारार्थ भर्ना गरिएको अवस्थामा भदौ ८ गते मृत्यु भएको हो ।
धरान-१३ अमरबस्तीका ८ वर्षीय बालक युशव भुजेलको बिपी प्रतिष्ठानमा आइसियु कक्ष खाली नहुँदा विराटनगरको न्युरो हस्पिटल पुर्‍याइएकोमा उपचारको क्रममा भदौ ७ गते मृत्यु भएको हो ।
धरान-१५ का अध्यक्ष नरेश इङवारमले धरान-१५ पुष्पाञ्जली मार्गकी १० वर्षकी बालिका दृष्टि श्रेष्ठलाई डेङ्गु भएपछि बिपीको एनआईसियुमा भर्ना गरिएकोमा भदौ ८ गते मृत्यु भएको पुष्टि गरे । उनले भने ‘बालिकालाई ज्वरो आएको कारण श्याम चोकको प्राइभेट क्लिनिकमा २ बोतल स्लाइन पानी चढाइएको थियो ।’
उनको स्वास्थ्य अवस्थामा गम्भीर भएकाले उनलाई थप उपचारका लागि बिपी प्रतिष्ठानको एनआईसियुमा भर्ना गरिएको थियो । बालिकाको उपचारको क्रममा मृत्यु भएको परिवारले जानकारी दिएको वडाध्यक्ष ईङवरामले बताए ।
दिवङ्गत बालिका धरान-२ स्थित नेशनल एकेडेमीको कक्षा ४ कि छात्रा थिइन् । प्रिन्सिपल श्री शिशा राईका अनुसार उनी मेहनती लगनशील छात्रा थिइन् । दृष्टिको असामयिक मृत्यु डेङ्गुको रोकथाममा स्थानीय निकायले गरेको हेलचेक्र्याइँका कारण भएकोमा क्षोभ प्रकट गरे ।
धरान-१३ का वडा अध्यक्ष नेत्र काफ्लेका अनुसार अमरबस्तीका ८ वर्षीय बालक युशव भुजेललाई ज्वरो आएपछि वडा कार्यालयमा सञ्चालित डेङ्गु स्वास्थ्य शिविर लगिएको थियो ।
त्यहाँ स्वास्थ्य जटिल भएकाले बिपी प्रतिष्ठान पुर्‍याइएकोमा आइसियु कक्ष खाली छैन भनिएपछि तुरुन्त विराटनगर न्युरो हस्पिटलमा पुर्‍याइएका बालकको उपचारको क्रममा भदौ ७ गते मृत्यु भएको हो ।
दिवङ्गत युशव भुजेल नेपाल पुलिस स्कुलमा कक्षा २ का छात्र थिए । बालकको धरान-१३ डेङ्गु शिविर स्वास्थ्य परीक्षण गर्दा डेङ्गु पोजेटिभ आएको वडाध्यक्ष नेत्र काफ्लेले बताए । उनले भने ‘यहाँ ल्याउँदा बालकको स्वास्थ्य अवस्था गम्भीर भएकाले जटिल उपचारका लागि बिपीमा रिफर गरिएको थियो ।’ त्यहाँ आइसियु कक्ष खाली नहुँदा तुरुन्त विराटनगरको न्युरो हस्पिटल पुर्‍याइएको उनले बताए ।
भदौ महिना लागेपछि डेङ्गुबाट लगालग २ बालबालिकाको मृत्यु भएपनि स्थानीय सरकार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा बेखबर छ। महाशाखामा पछिल्लो पटक मृत्यु भएको बालबालिकाको तथ्याङ्क छैन ।
महाशाखा प्रमुख उमेश मेहताले ती दुई बालबालिका डेङ्गुको कारण मृत्यु भएको भनी थाहा नपाएको बताउँदै भने ‘रिपोर्ट नआएकोले ती दुई बालबालिकाको रेकर्ड राखिएको छैन ।’ उनले ‘हजुरहरूसँग डेङ्गुको रिपोर्ट भए उपलब्ध गरिदिनु होला’ त्यसपछि तथ्याङ्कमा समावेश गरिने बताए ।
धरानमा डेङ्गुका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ४ जना पुगेको छ । यस अघि धरान-११ का १० वर्षीय बालिका र धरान-१६ का ९ वर्षीय बालकको डेङ्गुकै कारण मृत्यु भएको थियो ।
हालसम्म धरानमा डेङ्गु रोगका कारण १४ जनाको मृत्यु भई सकेको छ । तर हालसम्मको धरान उपमहानगरपालिकाको तथ्याङ्कमा १२ जनाको मात्र अभिलेख छ । तथ्याङ्क अनुसार १४ हजार २ सय ६५ जना डेङ्गु रोगबाट सङ्क्रमित छन् । ७२ प्रतिशत धरानका मानिस डेङ्गु सङ्क्रमणबाट प्रभावित छन् । 
धरानमा डेङ्गु स्वास्थ्य शिविरहरू पुरानो हस्पिटल छाता चोक, सुनसरी उद्योग वाणिज्य सङ्घ, बिपी हस्पिटल, प्राइभेट ल्याब, धरान वडा १३, १४, १५, ५ मा सञ्चालित छन् । शिविरहरूमा २५९ जना मध्ये १६८ जना डेङ्गु सङ्क्रमणबाट उपचार गराएका छन् ।
डेङ्गु महामारी ४ महिना अघि देखी धरानमा फैलिएको हो । धरान उपमहानगरपालिकाको जिम्मेवार निकाय सामाजिक सञ्जालमा भाइरल हुने काम मात्र गरिरहेको पूर्व जनप्रतिनिधिहरूले सार्वजनिक कार्यक्रममा आरोप लगाउँदै आइरहेको छन् ।