धरान : डेङ्गु महामारीमा सङ्क्रमितहरूको शिविर सञ्चालन गरिरहेको सुनसरी उद्योग वाणिज्य सङ्घले आज बुधवार ६० औँ वार्षिकोत्सव डेङ्गु लागेर निको भएका बिरामीहरूको ग्यास्ट्रिक सम्बन्धी एक दिने निःशुल्क शिविर आयोजना गरी मनाएको छ ।

शिविरमा डेङ्गु जाँच गरेका ७५ जना ग्यास्ट्रिक बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गरिएको अध्यक्ष विजय श्रेष्ठले बताए । शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ग्यास्ट्रोलोजिष्ट तथा हेपोटोलोजी, एमडी डा.सन्दीपराज बज्राचार्यको नेतृत्वमा सञ्चालन भएको थियो ।

डा.बज्राचार्यले डेङ्गु प्रभावित बिरामीलाई लिभरमा केही समस्या देखा पर्ने भएकाले सहभागी बिरामीले राम्रो उपचारको अवसर पाएको बताए । उनले भने 'शिविरमा विशेष गरी डेङ्गु लागेर निको भएका बिरामीको जाँच गरिएको हो ।'

सङ्घले अघिल्ला वर्षहरूमा विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको वार्षिकोत्सव यसपालि डेङ्गु शिविरका कारण थप स्वास्थ्य शिविर सहित मनाइएको हो ।

अध्यक्ष श्रेष्ठले भने 'धरानलाई डेङ्गु महामारीले प्रभावित गरेको बेला चलिरहेको डेङ्गु शिविरमा थप सुविधा प्रदान गरिएको हो।' एक दिने शिविर भएपनी धेरै बिरामीले स्वास्थ्य लाभ लिएका छन् ।