धरान : धरानमा फैलिएको डेङ्गु महामारी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा रेडक्रस सोसाइटी सुनसरीले उपमहानगरपालिकासँग गर्दै आएको सहकार्य एक महिला सम्म निरन्तर चल्ने जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवस मनाउन आज मङ्गलवार आयोजित कार्यक्रममा रेडक्रस सुनसरीका उपाध्यक्ष मुकुल कायस्थले भने,‘ डेङ्गु रोकथामका लागि लार्भा नष्ट गर्ने अभियानमा रेडक्रसको सहकार्यलाई थप एक महिना सम्म जारी राख्ने भएका छौँ ।’

उनका अनुसार अभियानले उपमहानगरपालिकाको वडा वडाका वडा कार्यालयसँग मिलेर कुना कुनामा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम गरिरहेको छ । रेडक्रसले वडाहरूमा अभियानलाई परिणाममुखी बनाउन माइक्रोबाइलोजीका शिक्षकहरूद्वारा लार्भा नष्ट गर्ने प्रक्रियाबारे प्रतिक्षण प्रदान गरेको छ ।

अभियानमा दैनिक १० जना दक्ष जनशक्ति सुनसरी रेडक्रसले उपलब्ध गराउँदै आएको उनले बताए । उपाध्यक्ष कायस्थका अनुसार सहकार्यको अभियान चालु अङ्ग्रेजी सेप्टेम्बर महिना भरी रेडक्रस संलग्न रहने छ ।

स्थापना दिवसका प्रमुख अतिथि इलाका प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुजकुमार घिमिरेले विपद्का साथी भनिँदै आएको रेडक्रस अब सामाजिक अभियानका साथीको रूपमा रूपान्तरण भएको बताए ।

विपत्तिको बेला उद्धार, राहतको कार्यमा मात्र सीमित नभएर रेडक्रस सामाजिक कार्यहरूमा अग्रसर हुनुपर्ने भएको बताउँदै उनले समाजमा आफ्नो भन्ने कोही नभएका मानिसहरूको पहुँचमा पनि सामाजिक संस्थाहरू पुग्नुपर्ने आवश्यकता भएको ध्यानाकर्षण गराए ।

सहायक प्रजिअ घिमिरेले भने ‘इलाका प्रशासन कार्यालयमा म आएका दुई महिना नाघ्यो तर आफ्नो मान्छे कोही नभएका भनी सेवा लिन अहिले सम्म कोही आएको छैन ।’ यसअघि नाताको गोता कोही नभएकालाई आफूले नागरिकता समेत बनाउन मद्दत गरेको उनले उल्लेख गरे ।

रेडक्रस सुनसरीका पूर्व सभापति टोमप्रसाद आचार्यले नेपालमा रेडक्रसको स्थापना चीनले तिब्बत कब्जा गरेपछि उत्पन्न मानवीय सङ्कटको बेला २०२० सालमा भएको स्मरण गराए । तिब्बतमा उत्पन्न राजनीतिक सङ्कटका कारण नेपालमा तिब्बती शरणार्थी ओइरिन थालेपछि त्यसको व्यवस्थापन गर्न रेडक्रसको स्थापना भएको उनले बताए ।

आचार्यले भने ‘त्यस बेला रेडक्रस स्थापनाका लागि स्वर्गीय प्रिन्सेप शाह, तत्कालीन स्वास्थ्य मन्त्री नागरश्वरप्रसाद सिंहको महत्त्वपूर्ण भूमिका रहेको थियो ।’

रेडक्रस सुनसरी सभापति उमेश थापाको सभापतित्वमा भएको स्थापना दिवस सभामा विद्यालय रेडक्रसका शिक्षक नायक भवानी खतिवडा विद्यालय स्तरीय रेडक्रसको भूमिकाका बारेमा प्रकाश परेका थिए । उक्त अवसरमा रेडक्रस भवन परिसर स्थित रेडक्रस झण्डा प्रमुख अतिथि सहायक प्रजिअ घिरिे र रेडक्रस सभापति थापाले झण्डोत्तलन गरेका थिए ।

redcross diwas 2 1