इटहरी : जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्ण बहादुर गिरिलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला न्यायधिस हरि प्रसाद कोइरालाको इजलासले बुधवार फैसला गर्दै अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा सिद्धबाबा विरुद्ध २०७६ मङ्सिर ११ गते मुद्दा परेको थियो । जिल्ला अदालत सुनसरीले २०७७ मङ्सिर २२ मा सफाइ दिएको थियो । न्यायधिस अर्जुन कुमार कोइरालाको इजलासले सिद्धबाबाले बलात्कार गरेको नभई महिलाले शरीर समर्पण गरेको भन्दै फैसला सुनाएका थिए । 

पीडित महिलाले फैसला विरुद्ध पुनरावेदन गरेपछि उच्च अदालत विराटनगरले सिद्धबाबालाई सफाइ दिने फैसलाको रित नपुगेको भन्दै पुनः जिल्ला अदालतमा पठाएको थियो । २०७९ जेठ ३ गते मङ्गलवार उच्च अदालतका न्यायधिसहरू सत्यमोहन जोशी र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सम्पूर्ण प्रमाण जुटाएर पुनः फैसला गर्न आदेश दिएका थिए । 

सोही मुद्दाको सुनुवाइ गर्दै बुधवार जिल्ला अदालत सुनसरीले पुरानै फैसला दोहोर्‍याएको छ । यसअघि महिलाले शरीर समर्पण गरेको भन्दै फैसला गरेको जिल्ला अदालतले यस पटक अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।