धरान : उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई घण्टाघरका कर्मचारीलाई गएको भदौ ११ गते ट्रेड युनियनहरूसँग भएको सम्झौता अनुसार काममा निरन्तरता दिन या न्यायोचित अनुदानको व्यवस्था गर्न मजदुरहरूले माग गरेका छन् ।

बुधवार कार्यपालिका बैठक कर्मचारी सम्बन्धी एजेण्डमा विवाद भएपछि स्थगित भएको थियो । बैठकमा मेयर साम्पाङले एक महिनाको तलब दिएर निकाल्ने प्रस्ताव गरेका थिए ।

यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका राष्ट्रिय समिति सदस्य भीम ज्वाला राईको नेतृत्वमा गएको ट्रेड युनियनको प्रमण्डलले मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाउँदै उक्त विषयमा छलफल गरेका हुन ।

प्रतिनिधि मण्डलमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश अध्यक्ष लीला बहादुर प्रधान, नेपाल ट्रेड युनियन काँग्रेसका शमसेर वर्देवा एवं त्यसमा आबद्ध सङ्गठनहरूका नेतृत्वहरू सहभागी थिए ।

घण्टाघरमा १७ वर्ष देखि कार्यरत कर्मचारी द्वय नरबहादुर सुब्बा 'राजा' र प्रकाश राईलाई मेयर हर्क साम्पाङको एकल निर्णयमा गत: साउन १ गते निष्कासित गरिएको थियो । ट्रेड युनियनहरूले गेटमा तालाबन्दी सहितको आन्दोलन गरेपछि भदौ ११ गते कर्मचारीद्वयलाई एक वर्ष पुर्नवहाली गर्ने सम्झौता भएको थियो ।

यसै बिच बुधवारको बैठकमा कर्मचारीहरू निष्कासन गर्ने सम्बन्धी एजेण्डामा घण्टाघरका कर्मचारीव्दयलाई पनि निकाल्ने प्रस्ताव गरिएको थियो । उक्त विषयप्रति ध्यानाकर्षण भएकोले ट्रेड युनियनका प्रतिनिधि मण्डल मेयर साम्पाङ सँग छलफल गर्न गएका हुन ।

प्रतिनिधि मण्डलले मेयरलाई कार्यकक्षमै भेटेर मजदुरहरूलाई पुनर्बहाली या न्यायोचित अनुदानको व्यवस्था गर्न सुझाव दिए । प्रतिनिधि मण्डलको ज्ञापन पत्रमा यसअघि संयुक्त सघर्ष समिति र मेयर साम्पाङ बिच भएको सम्झौता अनुसार मजदुरहरूलाई पुनर्बहाली पहिलो सर्त र दोस्रो सर्त उपदान सहितको बिदाइ रहेको उल्लेख छ ।

मजदुर नेता लीला प्रधानका अनुसार प्रमण्डलले मेयर साम्पाङलाई मजदुरलाई बिदाइ गर्दा श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मजदुरहरूलाई न्यायोचित अनुदान दिएर बिदाइ गर्न माग गरेको छ ।

छलफलमा मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्दपूर्ण नहुँदा निर्णय गर्न नसकिएको बताए । उनले घण्टाघर व्यवस्थापन समितिबाट १५ लाख रुपया नगरपालिकामा आई नसकेको अन्य रकम समेत कहाँ गयो भन्ने टुङ्गो नभएको बताए ।

समितिले राखेको भए त्यही पैसाबाट मजदुरहरूलाई अनुदान सहयोग गर्नु पर्ने बताउँदै घण्टाघरका कर्मचारीका विषयमा मङ्गलवार आधिकारिक निर्णय दिने प्रमण्डललाई समय दिएका छन् । मजदुर नेता प्रधानले भने ‘मगलबार दिउँसो सम्म आधिकारिक निर्णय नदिए आन्दोलनको घोषणा गरिने छ।’

ghantaghar-andaon