इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज (शनिवार) विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठुलो दलको हिसाबमा मुख्यमन्त्री चयन भएका कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

हाल सम्मको संसदीय अङ्कगणित अनुसार कार्की अल्पमतमा छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्ने भए पनि एमालेका ४० सांसद छन् । हाल सभामुख पद रिक्त रहेकाले एमालेकै सांसद रहेकी उपसभामुख सृजना दनुवारले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

सभाध्यक्षले मत हाल्न नपाउने भएपछि कार्कीलाई थप ८ सांसदको समर्थन आवश्यक पर्छ । राप्रपाका ६ सांसदले कार्कीलाई समर्थन गर्ने भए पनि अझै २ सांसद अपुग हुन्छन् । जसको लागि कुनै दल पनि तयार देखिएका छैनन् ।

कार्कीले बहुमत नपाए उपधारा ५ अनुसार सरकार गठन हुने देखिएको छ । बहुमत पुर्‍याउने जुनसुकै सांसद पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था अनुसार एमालेले नेपाली काँग्रेस लाई समर्थन गर्ने सङ्केत गरेको छ । एमाले नेताहरूले काँग्रेससँग मिलेर अगाडि बढ्नुपर्ने बताइरहेका छन् ।

काँग्रेस भित्र उद्धव थापा बाहेकको नयाँ सांसदलाई मुख्यमन्त्री बनाउने तयारी सुरु भएको छ । थापाले दुई पटक मुख्यमन्त्री नियुक्त हुँदा समेत विश्वासको मत पाउन नसकेपछि उनको विकल्प खोजिएको हो ।

काँग्रेस बाट प्रबल दाबेदारको रूपमा केदार कार्की देखिएका छन् । संसदीय दलमा थापा सँग पराजित उनी पूर्व आन्तरिक मामिला मन्त्री समेत हुन् । डाक्टर शेखर कोइराला निकट उनले मुख्यमन्त्री बन्ने गरी तयारी अगाडि बढाएका छन् ।

विराटनगरकै भीम प्रसाद पराजुली पनि अग्रसर देखिएका छन् । कोशी प्रदेशमा कृष्ण प्रसाद सिटौला समूहले नेतृत्व गर्ने सहमति भए अनुसार उनी अगाडि बढेका हुन्  । अर्का सांसद अमृत अर्याल पनि मुख्यमन्त्रीको आन्तरिक तयारीमा छन् ।

काँग्रेस बाहेक गठबन्धन सहित राप्रपाको मत ल्याउन सक्ने भन्दै माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि तयारी तीव्र पारेका छन् । तर उनलाई मुख्यमन्त्री बनाउन नहुनेमा माओवादीकै सांसदले केन्द्रीय नेतृत्व सम्म लबिङ गरिरहेका छन् ।