धरान : अदालतको फैसलाबाट लागुऔषध, बैङ्क ठगी र बलात्कारको मुद्दामा दोषी ठहर भई कैद, जरिवाना समेत तोकिएका ४ जना फरार अभियुक्तहरूलाई झापा र पाँचथरबाट प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापाबाट पक्राउ पर्नेमा बिर्तामोड-३ का २९ वर्षीय सोम बहादुर राई छन् । राई जिल्ला अदालत झापाको २०७९ चैत १५ गते फैसला अनुसार लागुऔषध मुद्दामा २ महिना कैद र १२ हजार जरिवाना तोकिएका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ ।

यसैगरी दमक-१ का खडानन्द भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई उच्च अदालत विराटनगरको २०७८ चैत २५ गतेको फैसलामा बैक ठगी मुद्दामा ६ लाख ४५ हजार ३ सय जरिवाना तोकिएको छ । फैसला लगत्तै उनी फरार थिए ।

साथै झापाकै डमरु दास पनि पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा झापा जिल्ला अदालतको २०८० वैशाख १४ गतेको फैसलाले दोषी ठहर गर्दै १ वर्ष ३ महिना १९ दिन कैद तथा १५ हजार जरिवाना तोकिएको थियो ।

यसैगरी बलात्कार मुद्दाका फरार अभियुक्त पाँचथर हिलिहाङ गाउँपालिका-७ का ५६ वर्षीय नरबहादुर धमलालाई गएको सोमवार पाँचथर जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । फरार धमलालाई बलात्कारको अभियुक्त ठहर गर्दै पाँचथर जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो ।

पक्राउ परेका चारै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले तोकिएको सजाय भुक्तानको लागी सम्बन्धित जिल्ला कारागार चलान गरेको प्रहरीले जनाएको छ ।