इटहरी : नेपाली कांग्रेस कोशी प्रदेश समितिले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कोशीमा केदार कार्कीले विद्रोह गरेर सरकार गठनको प्रस्ताव गरेपछि पार्टीको धारणा बनाउन बैठक बोलाइएको हो ।

विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेश सरकार गठन बारे थप कदमको विषयमा छलफल हुने महामन्त्री उमेश थापाले बताए ।

उनका अनुसार सरकार गठन बारे पार्टीले के धारणा सार्वजनिक गर्ने भन्ने निर्णय हुन लागेको हो ।

बिहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेको थियो । गठबन्धनको निर्णयलाई बेवास्ता गर्दै काङ्ग्रेस कोशीका ८ जना सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन् ।